एण्टीबायोटिकको प्रयोगले कोभिडभन्दा ठूलो महामारी निम्त्याउँदै, वर्षेनि ७० लाखको मृत्यु !
काठमाडौं,जेठ २८। पछिल्लो समय विश्वभर मानव र पशुपंक्षीमा एण्टीबायोटिकको अनुचित प्रयोगले मानव स्वास्थ्यमा समस्या थपिँदै गएको छ । कुनै रोगको उपचार तथा निदानका लागि गरिने एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा थप खतरा बढ्दै गएको हो ।
विज्ञहरूले गरेको अध्ययन/अनुसन्धान अनुसार एण्टीबायोटिकको अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा शुक्रवार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युसेडको आर्थिक सहयोगमा एण्टि माइक्रोवियल रेसिस्टेण्ट विषयक कार्यशालामा विज्ञ तथा जानकारहरूले एण्टीबायोटिकले मानव स्वास्थ्यमा गम्भीर समस्या थपिएको बताएका हुन् ।
युएसएआईडीका फोकल पर्सन डाक्टर सन्तोष ढुलालले एण्टीबायोटिकको प्रयोग कोभिडभन्दा बढी महामारीको रुपमा फैलिएको बताए । प्रस्तुतीकरण दिँदै डा. ढुलालले यो महामारी विश्वका विकासोन्मुख र गरीब देशमा बढी भएको उनको भनाई छ ।
सन् २०२२ मा गरिएको एक अध्ययन अनुसार विश्वमा एण्टीबायोटिकको प्रयोगका कारण ५० देखि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये एशियाली देशहरूमा मात्रै एक वर्षमा ४७ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यसको प्रयोगलाई रोक्न नसके सन् २०५० सम्ममा एण्टीबायोटिकको प्रयोग वर्षेनी १ करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको अनुसन्धानले देखाएको छ ।
अधिकांश चिकित्सकले रोग चाँडै निको बनाउने र बिरामीलाई सहज बनाउने हेतुले अनुचित रुपमा एण्टीबायोटिकको प्रयोग गर्दा मानव शरीरले पछि बिरामी पर्दा उक्त एण्टीबायोटिकको मात्राले काम नगर्ने र मात्रा बढाउँदै लैजादा बिरामी थप गम्भीर बन्दै जाने र मृत्यु हुने गरेको छ ।
मानिसमा लाग्ने ७५ प्रतिशत रोग पशुपंक्षीबाट सर्ने भएकोले र जनावरको मासु मानिसले प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने गरेको गुणस्तर महाशाखाका प्राविधिक राजकुमार पाण्डेले बताए ।
‘पशुपंक्षीमा समेत एण्टीबायोटिकको प्रयोग अत्यधिक छ, यसको मासु खाँदा एकातिर रोगको जोखिम त छँदैछ, अर्को कुरा एण्टीबायोटिकले काम समेत नगर्ने भएको छ,’ उनले भने ।
अनुसन्धान अनुसार एण्टीबायोटिकको प्रयोगले सन् २०३० सम्ममा विश्वमा २ करोड ४० लाख मानिस गरिबीको रेखामुनि धकेलिने छ । विश्वमा सय खर्ब अमेरिकी डलरको भार पर्ने र ३ दशमलब ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने अनुसन्धानले देखाएको छ ।
सो अवसरमा प्रस्तुति दिँदै डाक्टर विवेका श्रेष्ठले पछिल्लो समय गर्भवती महिलालाई इन्जेक्सनको माध्यमबाट सबैभन्दा बढी एण्टीबायोटिक दिइने गरेको बताइन् । उनले जनावरको मासुमा भन्दा बढी दूधको प्रयोगले मानिसमा रोग सर्ने समस्या आएको बताए । यसको रोकथामको लागि खाद्य र मासुको प्रयोगको लागि एण्टीबायोटिक विरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
युसेडका सहजकर्ता अर्जुन अधिकारीले रोगबाट मर्नेभन्दा एण्टीबायोटिक अनुचित प्रयोगले मर्नेको संख्या भयावह हुंँदै गएको बताए । विश्वमा सन् १९८७ बाट नयांँ एण्टीबायोटिकको आविष्कार कम हुंँदै गए पनि यसको प्रयोग अत्यधिक भएको कारण मानिसको मृत्युमा भने कमी नआएको उनको भनाइ थियो । ‘नेपालमा यसको अनुचित प्रयोग कति हुन्छ भन्ने तथ्यांक त छैन,’ अधिकारीले भने, ‘विश्वमा ५० प्रतिशत एण्टीबायोटिक जथाभावी प्रयोग हुंँदै आएको छ ।’ यसको रोकथामको लागि सरकारको नीति, कानुन कार्यन्वयन गर्नुपर्ने र जनचेतना फैलाउनु पर्ने उनको भनाइ छ ।
मन्त्रालयले यसको न्यूनीकरण र जनचेतनाका लागि देशका मुख्य शहरहरूमा यो कार्यशाला चलाइरहेको छ।