चितवनका दुग्ध किसानको गुनासो– बीमा सुविधा बन्द हुँदा लम्पिस्कीनबाट मरेका पशुको क्षतिपूर्ति पाएनाैं
चितवन,जेठ २६ । चितवनका दुग्ध किसानले बीमा कम्पनीले पशुको बीमा नगरेको भन्दै गुनासो गरेका छन् । सरकारले गाईभैंसीको बीमामा अनुदान दिन छाडेको भन्दै बीमा कम्पनीहरूले पशुको बीमा नगरेपछि उनीहरू मर्कामा परेका छन् ।
आज चितवन दुग्ध सहकारी संघले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा किसानहरूले बीमा सुविधा तत्काल लागू गर्न र बीमा गरिएका पशुको उचित क्षतिपूर्ति दिन माग गरेका छन् । सो अवसरमा संघका अध्यक्ष किशोर वगालेले बीमा कम्पनीले बीमा सुविधा दिन छाडेको पशुपालक किसान मर्कामा परेको बताए ।
१ महिना अघिदेखि बीमा सुविधा पनि बन्द भएका कारण लम्पिस्कीन र अन्य रोगबाट मरेका पशुको उचित क्षतिपूर्ति नपाएको उनको भनाइ छ । जसका कारण चितवनमा दुग्ध उत्पादन घट्ने र किसानहरू विस्थापित हुने खतरा बढेको उनले बताए ।
बीमा कम्पनीहरूले सरकारले बीमा अनुदानको रकम नदिएको भन्दै यही जेठ ८ गतेदेखि बीमा गर्न बन्द गरेका छन् ।
दुग्ध विकास बोर्ड खारेजीविरुद्ध आन्दोलनको चेतावनी
सरकारले आगामी वर्षको बजेटमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख गरेपछि दुग्ध किसानहरूले आन्दोलनको चेतावनी दिएका छन् । यही जेठ १५ काे बजेट भाषणमा दुग्ध विकास बोर्ड खारेजी गर्ने उल्लेख छ ।
किसानहरूले दुग्ध विकास बोर्ड किसानको अभिभावक भएको भन्दै यसलाई परिमार्जनसहित पुर्नस्थापना गर्न माग गरेका छन् ।
संघका सचिव कल्याण अधिकारीले दुग्ध विकास बोर्ड खारेज गरी सिंहदरबारमा गाभ्न लागेको भन्दै आफूहरूले यसविरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । ‘अब हाम्रो गुनासो कसले सुन्छ ? हाम्रो पहुंँच सिंहदरबारसम्म कहिले पुग्ने ?’ उनले भने, ‘राज्यले जहिले पनि राज्यले दुग्ध किसानलाई मात्र निरुत्साहित गरेको छ ।’
संघका अध्यक्ष वगालेले बोर्डले दूध क्षेत्रको नीति निर्माण गर्न, दूधको मूल्य निर्धारण गर्न, उत्पादक र उद्योगीबीच सम्बन्ध स्थापित गर्न मद्दत पुगेकोले पुनःसंरचनासहित सञ्चालन गर्नुपर्ने बताए । आफ्ना मागको राज्यले बेवास्ता गरे देशभर चरणवद्ध आन्दोलन गर्ने उनले बताए ।