अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
सिड्नी,जेठ २४ । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी अधिकांश अर्थशास्त्रीहरूले बैंकले ब्याजदर स्थिर राख्ने बताएका थिए ।
ब्याजदर वृद्धिको खबरसँगै एसएन्डपी/एएसएक्स २०० प्रतिशतले घटेको छ । अमेरिकी डलरको तुलनामा अष्ट्रेलियाली डलरको भाउ भने शून्य दशमलव ७३ प्रतिशतले बढेर शून्य दशमलव ६६ सेन्टमा पुगेको थियो । आरबीए जसरी पनि महँगी घटाउने दाउमा छ । अपिलमा अष्ट्रेलियामा महँगी ६ दशमलव ८ प्रतिशत थियो ।
महँगी उच्चतम् स्तरमा उक्लिसकेको भए पनि अझै पनि यो उच्च स्तरमै रहेको संकेत मिलिरहेको आरबीएका गभर्नर फिलिप लोईले भनेका छन् । हालै मात्रै महँगी थप बढ्न सक्ने जोखिम बढेकोले बैंकले ब्याजदर बढाउने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा लोईले भनेका छन् । आरबीएले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य रोखेको छ ।
महँगी लामो समयसम्म उच्च स्तरमा रहिरह्यो भने यसलाई पछि अंकुश लगाउन झनै महँगो पर्ने बताइएको छ । ब्याजदर झनै बढाउनुपर्छ अनि बेरोजगारी दरमा पनि उच्च वृद्धि हुने जोखिम हुन्छ । बैंकले महँगीमा अंकुश लगाउन थप ब्याजदर वृद्धि गर्ने संकेत गरेको छ ।
आक्रामक रूपमा ब्याजदर बढाइरहँदा आर्थिक मन्दी निम्तने नदिने काम फलामको च्यूरा चपाउनु सरह हुनेमा पनि बैंकको चिन्ता छ । आरबीएले जति जति ब्याजदर बढाउँदै जान्छ उति नै सुरक्षित अवतरण वा आर्थिक मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम कठिनतम् बन्दै जाने विश्लेषण गर्न लागिएको छ । एजेन्सी