भारत र भुटानको उत्पादन घटेपछि नेपाली अलैँचीको माग बढ्यो
काठमाडौं,जेठ १० । अलैँची निर्यात दोहोरो अंकले वृद्धि भएको छ । नेपालको कुल निर्यात गर्दा अलैँची निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० १० महिनाको वैदेशिक व्यापार सम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधीमा अलैँचीको निर्यात भने उच्चदरमा बढेको छ । तथ्यांकअनुसार चालु आवको १० महिनामा ७ अर्ब २८ करोड १४ लाख बराबरको अलैँची निर्यात भएको छ । जुन गत आवको सोही अवधीको तुलनामा ७२.४६ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँले बढी हो । गत आवको समिक्षा अवधिमा ४ अर्ब २२ करोड १९ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो ।
चालु आवको १० महिनामा ८ हजार ९२१ मेट्रिक टन अलैँची निर्यात भएको छ । गत आवको बैशाख मसान्तसम्ममा भने ४ हजार ६७० मेट्रिक टन अलैँची नेपालबाट बाहिरिएको थियो । नेपालबाट भारत, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरुमा अलैँची निर्यात हुने गरेको छ । विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ । समिक्षा अवधिमा भारतमा मात्रै ७ अर्ब २६ करोड रुपैयाँ बराबरको ८ हजार ८७७ मेट्रिक टन अलैँची निर्यात भएको छ । यसैगरि पाकिस्तानमा १ करोड ९० लाख रुपैयाँ, इटालिमा १० लाख ९ हजार रुपैयाँ र जर्मनीमा ६ लाख ३५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।
यो वर्ष उत्पादन बढेर नै अलैँचीको निर्यात बढेको हो । विशेषगरि नेपाल, भारत र भुटानमा अलैँची उत्पादन हुन्छ । यो वर्ष भारत र भुटानको अलैची उत्पादन घटेको छ । तर, नेपालको अलैँची उत्पादन भने झण्डै ५० प्रतिशतले बढेको छ । उत्पादन बढेसंगै अलैचीको निर्यात बढेको नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए । गत आवमा स्टक रहेको अलैँची पनि यस वर्ष बिक्री भएकाले नै निर्यात बढेको उनको भनाई छ । उनले भने,–‘गत आर्थिक बर्षको जेठ र असारमा अलैँचीको मुल्य घट्यो । त्यसबेला व्यवासायीहरुले अलैची बिक्री गरेनन् । तर, चालु आवको सुरुवाती समयमा अलैँचीको मुल्य सामान्य अवस्थामा आयो । त्यसपछि गत आवको स्टक अलैची पनि बिक्री भएपछि निर्यात बढ्यो ।’
अहिले नेपालको उत्पादन बढेको छ । तर, भारत र भुटानको उत्पादन भने घट्यो । त्यसले गर्दा नेपाली अलैचीको माग बढ्दा निर्यात बढेको अध्यक्ष भट्टराईको भनाई छ । अलैँची नेपालमै उत्पादन हुने हुदाँ निर्यातमा यसले शतप्रतिशत भ्यालु एड दिने अध्यक्ष भट्टराईले बताए ।
अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरु बताउछन् ।