वर्तमान अर्थतन्त्रका चुनौति सामना गर्नसक्ने बजेट ल्याउन सांसदहरुको जोड
काठमाडौं,जेठ ६ । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् ।
शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरे । उनीहरुले देशमा विचौलिया संस्थागत भएको र यसलाई रोक्न सरकारको योजना के छ भन्दै प्रश्न गरे । समितिको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी रुपमा काम हुन लागेको भन्दै आपत्ति जनाए ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले देशमा विचौलिया संस्थागत भएको तर्क गरे। अहिले आएर पनि बाटो र पानीको लोभ मात्रै देखाउने गरिएको भन्दै उहाले हाइवेको भौतिक पूर्वाधार झनै नराम्रो बनिरहेको र यस बारेमा सरकारले कस्तो योजना बनाइरहेको छ भन्दै प्रश्न गरे । उनले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन इन्जिनियरिङ शुरु गर्नुपर्नेमा जोड दिए ।