बढ्दै बाल कुपोषण
बैतडी, जेठ ३। बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् ।
यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए।
कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको उनको भनाई छ ।
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परे । गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए ।” पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए ।
पोषण सुधार गर्न बैतडीमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा छ ।
युएसएआइडीको आर्थिक सहयोगमा बैतडीमा आठ वर्षदेखि सुआहारा कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने कार्यव्रmम सञ्चालन गरिरहेको गैरसरकारी संस्था स्वदेश बैतडीका राधिका भट्टले बताईन्।
कार्यक्रमले स्थानीय तहमा कुपोषित बालबालिकालाई उपचारसम्बन्धी तालिम पनि चलाएको छ तर पनि यस वर्ष कुपोषण बढ्यो । उनका अनुसार विगतका वर्षमा पोषिलो खानेकुरा, हरियो साग, तरकारी, बिउ र कुखुरा वितरण गर्दै आए पनि गत साउनदेखि सुआहाराले कुपोषित बालबालिकाको उपचार गर्ने बहिरङ्ग उपचार केन्द्रका स्वास्थ्यकर्र्मीलाई तालिम दिने गरेको छ । त्यस आधारमा खोजी बढ्दा पनि कुपोषितको सङ्ख्या बढेको हुन सक्छ ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।