४५ हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण, देवदारको तेललाई औषधिको रुपमा प्रयोग
जुम्ला,जेठ २ । जुम्लाको तातोपानी गाउँपालिका–१ तरापीमा लगाइएको करीब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ ।
तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।
लाखौँको संख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए ।
‘तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्,’ शाखा प्रमुख नेपालीले भने, ‘तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।’
क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि अहिले लाखौंको संख्यामा वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए । यसले स्याउको बोक्रामा घर लगाएर बसेको भन्दै उनले जलवायु परिवर्तनका कारण पछिल्लो समय स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताए ।
तरापीमा लगाइएको ठूलो संख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
‘टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौं,’ उनले भने, ‘त्यसले समस्या समाधान गर्न नसक्ने अवस्था भए विकल्प पनि खोज्नुपर्ने हुन्छ ।’ तातोपानी–१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पुर्याएको बताए । रासस