हुम्लामा ‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित
हुम्ला,बैशाख २८ । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको हो ।
लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए ।
अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा एक सय २७ पशुवस्तु मरेका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए ।
हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म एक हजार छ सय ३९ वटा गाईगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका नौ सय २० गाईगोरुमा यो सङ्क्रमण देखिएको छ । संक्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए ।
यस्तै, सङ्क्रमण देखिएका एक हजार तीन सय ७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार चार गाईगोरु, तीन हजार दुई सय ३४ भैँसी, ४० हजार ४२ भेँडा, एक लाख ३८ हजार ९३ बाख्रा, चौँरी सात हजार दुई सय ४६ र एक हजार आठ सय २० कुखुरा प्रभावित छन् ।