आगामी बजेट आर्थिक वृद्धिदेखि रोजगारी बढाउनेसम्म लक्षित हुनेछ : अर्थमन्त्री
काठमाडौं,बैशाख २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट आर्थिक वृद्धि हासिल गर्नेदेखि रोजगारीको अवसर बढाउनेसम्म लक्षित हुने बताएका छन् ।
आइतबारबाट शुरु भएको संसदको बजेट अधिवेशनको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु,’ उनले भने ।