आगामी बजेटका लागि पूर्व ५ अर्थमन्त्रीको साझा सुझाव: ‘खर्च कटौतीमा निर्मम बन्नु, नयाँ आयोजना थप नगर्नु’
काठमाडौं,बैशाख २२ । अर्थमन्त्रालयले यति बेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका चटारोमा छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महत पनि विभिन्न सरोकारवाला तथा विज्ञहरुसंग छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भ बजेट तयारीका लागि शुक्रबार अर्थमन्त्री डा. महतले पूर्व अर्थमन्त्रीसंग छलफल गरेका छन् ।
छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा.युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए ।
पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न सुझाव दिएका छन् । बैठकमा खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न पूर्व अर्थ मन्त्रीले सुझावहरु दिएका हुन् ।
छलफलमा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको बताएका थिए । यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।
उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने जानकारी गराए । यसका साथै नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको समेत बताए ।
उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थ मन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।