ऐनविपरीत लगानी गरेका सहकारी धमाधम समस्यामा
काठमाडौं,बैशाख २२ । ऐनविपरीत घरजग्गा, निजी कम्पनी र शेयरमा लगानी गरेका सहकारीहरू धमाधम संकटमा पर्न थालेका छन् ।
कोभिड–१९ महामारी, रूस–युक्रेन तनाव, घरजग्गा कित्ताकाटमा सरकारले गरेको कडाइका साथै कसिलो मौद्रिक नीतिले कारोबारमा कमी आएपछि सहकारी संस्थाहरू बचत फिर्ता गर्न नसक्ने गरी संकटमा पर्न थालेका हुन् ।
सहकारी ऐन २०७४ ले सहकारीलाई घरजग्गा र निजी कम्पनीमा लगानी गर्न निषेध गरेको छ । तर, प्रभावकारी अनुगमन नभएकाले सहकारी सञ्चालकहरूले सदस्यबाट उठाएको निक्षेप रकम ऐनले निषेध गरेका घरजग्गा, शेयरलगायत क्षेत्रमा लगानी गरेका हुन् । तिनै संस्थाले बचत समेत फिर्ता गर्न सकेका छैनन् ।
सोमवार मात्र ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले विज्ञप्ति जारी गरेर आर्थिक मन्दी र तरलता अभावका कारण संस्थाबाट प्रवाह भएको ऋण तथा ब्याज असुली अत्यन्तै कम भएको, घरजग्गाको खरीदविक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्तिसमेत शून्य प्रायः भएकाले संस्थाले निक्षेपकर्ताको निक्षेप फिर्ता र ब्याजको भुक्तानी नियमअनुसार गर्न नसकेको बताएको छ ।
संस्थाले निक्षेपकर्ता एवं शेयर सदस्यको निक्षेप सुरक्षित गर्न संस्थाबाट प्रवाह भएको ऋण असुली, सुमेरु ग्रूपभित्रका कम्पनीहरूको शेयर र जग्गा विक्री तथा कम्पनीको नाममा रहेको घरजग्गा सक्दो छिटो विक्री गर्ने अभियानमा लागेको हुँदा उक्त समयसम्म धैर्यधारण गरिदिन निक्षेपकर्ता शेयर सदस्यलाई अपिल गरेको छ । संस्थाले अधिकांश रकम सुमेरु ग्रुपअन्तर्गतको सुमेरु अस्पताल, सुमेरु मार्ट, सुमेरु प्रिन्टिङ प्रेस, एशियन कलेजलगायतमा लगानी गरेको स्वीकार गरेको छ ।
यस्तै बचतकर्तालाई रकम फिर्ता गर्न नसकेको भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाले पनि सदस्यबाट संकलित बचत गैरकानूनी क्षेत्रमा लगानी गरेको पाइएको छ । सदस्यबाट १० अर्ब ५० करोड रुपैयाँ बचत संकलन गरेको शिवशिखरले १ अर्ब ९० करोड रुपैयाँमात्रै सदस्यलाई ऋण लगानी गरेको पाइएको छ ।
बाँकी ८ अर्ब ६० करोड रुपैयाँ शिखर अर्गनाइजेशनको नाममा भगिनी कम्पनीहरू खोलेर लगानी गरेको सहकारी विभागले बताएको छ । संस्थाले शिखर मार्टका नाममा देशका विभिन्न स्थानमा डिपार्टमेन्ट स्टोर खोल्नुका साथै घरजग्गामा पनि लगानी गरेको छ । यसअघि समस्या देखिएको ललितपुरस्थित देउराली बहुउद्देश्यीय, मीनभवनस्थित कान्तिपुर सेभिङ एन्ड क्रेडिट, ललितपुरको पशुपति बहुउद्देश्यीय, काठमाडौंको गौतमश्री जस्ता सहकारीले पनि ठूलो बचत घरजग्गामा परिचालन गरेका छन् । सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेन्टल सहकारी पनि घरजग्गामा लगानी गरेर डुबेको थियो । यस्तै मुद्दा चलिरहेको सिभिल सहकारी पनि घरजग्गाकै लगानीका कारण समस्यामा परेको थियो ।