आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने



काठमाडौं, वैशाख २० । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंक र एडीबीले चालू आवमा आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत हुने अनुमान गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहनेछ । तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत र आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए ।

‘आगामी दिनमा सरकारी खर्च र निर्माणजन्य क्षेत्रमा खर्च बढ्छ भन्ने अनुमानको आधारमा जीडीपी वृद्धिदर १ दशमलव ८६ प्रतिशत रहने अनुमान गरेका हौं,’ निर्देशक भण्डारीले भने, चालू आर्थिक वर्षको नौ महिनाको यथार्थ र अबको ४ महिनाको अनुमानित तथ्यांकको आधारमा वृद्धिदरको लक्ष्य सार्वजनिक गरिएको हो ।’ अर्थतन्त्रमा अपेक्षा गरेभन्दा फरक वातावरण निर्माण भएको खण्डमा भने आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम हुने उनले बताएका छन् । आर्थिक वृद्धिदर कमजोर भए पनि नेपालको अर्थतन्त्रको आकार भने बढेको छ । नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ ।

कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६–७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७–७८ मा ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्