नेपालीहरूको प्रतिव्यक्ति आय बढेर १ हजार ४१० डलर पुग्ने प्रक्षेपण, १ दशकमा कति बढ्यो ?
काठमाडौं,बैशाख २०। नेपालीहरूको प्रतिव्यक्ति आय बढेर १ हजार ४१० अमेरिकी डलर अर्थात १ लाख ८४ हजार १४० रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यसअघि नेपालीहरूको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर रहेको थियो । पछिल्लो एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय २९ डलर मात्रै बढ्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमानले नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा २९ डलर मात्रै बढेको देखाएको हो ।
नेपालीहरूको प्रतिव्यक्ति आय पहिलोपटक २०७३/७४ मा १ हजार डलर नाघेको थियो । १ दशक अघि नेपालीहरूको प्रतिव्यक्ति आय ८१४ डलर रहेको थियो । दशकको तुलनामा करीब ६०० डलर आय बढेको हो ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने, बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयको तथ्याङ्क छ ।