अर्जेन्टिनाले चीनलाई डलरमा होइन युआनमा भुक्तानी दिने
काठमाडौं । चरम आर्थिक संकट (Economic Crisis) को सामना गरिरहेको अर्जेन्टिना (Argentina) ले चीन (China)बाट ल्याएको सामानको भुक्तानी चिनियाँ युआनमा गर्ने भएको छ । यसअघि डलरमा भुक्तानी गर्दै आएको अर्जेन्टिनाले बुधवार उक्त घोषणा गरेको हो । डलर सञ्चिति सुक्दै गइरहेको अवस्थामा यो कदमले सरकारलाई निकै ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
अप्रिलमा अर्जेन्टिनाले चीनसँग किनेको करीब १ अर्ब डलर बराबरको सामानको भुक्तानी डलरको सट्टा युआन (Yuan)मा गर्ने लक्ष्य राखेको थियो । त्यसपछि मासिक झन्डै ७९ करोड डलरको आयातको भुक्तानी युआनमा गरिने एउटा विज्ञप्तिमा सरकारले भनेको छ ।
अर्जेन्टिनाको डलर सञ्चितिलाई टेवा दिन यो निर्णय गरिएको अर्जेन्टिनी अर्थमन्त्री सेर्गियो मास्साले चिनियाँ राजदुत चाउ सियाओलीसँगको भेटघाटपछि एक कार्यक्रममा भनेका थिए । अहिले अर्जेन्टिनाले चरम डलर अभाव भोगिरहेको छ ।
इतिहासमै कहिले नदेखिएको खडेरीका कारण कृषि निर्यातमा उच्च कमी आएपछि उसको डलर सञ्चिति (Dollar Reserve) मा दबाब बढेको छ । राजनीतिक अनिश्चिय र यो वर्ष हुन लागेको चुनावले पनि डलरको सञ्चितिमाथि दबाब सिर्जना भइरहेको छ ।
गएको वर्ष नोभेम्बरमा अर्जेन्टिनाले विदेशी मुद्राको सञ्चिति बढाउन चीनसँग पाँच अर्ब डलरको करेन्सी स्वाप (Currency Swap) गरेको थियो । यसलाई पनि डलरमाथिको निर्भरता घटाउने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको थियो ।
चरम डलर अभाव भोगिरहेका देशहरूले अहिले डलर (Dollar) को सट्टा व्यापार साझेदार देशको मुद्रामा कारोबार गर्ने पहल बढाएका छन् । बंगलादेश (Bangladesh) लगायत देशहरूले भारतसँग पनि भारतीय रुपयामा कारोबार गर्नेतिर बढी जोड दिइरहेका छन् । एजेन्सी