१ करोड २० लाख रुपैयाँ उठाएर १० दिन पछि जोडियो रोल्पा सिमेन्टको काटिएको लाइन



काठमाडौं,बैशाख १५ । रोल्पा सिमेन्ट प्रालि (Rolpa Cement Pvt. Ltd.)ले १ करोड २० लाख रुपैयाँ विद्युत महसुल तिरेको छ । करीब १० वर्षदेखिको साढे ८ करोड रुपैयाँ विद्युत महसुल नतिरेपछि विद्युत प्राधिकरणले यहि वैशाख ४ गते उद्योग लाइन काटेको थियो । उद्योगले २०७० यता विद्युत महसुल तिरेको थिएन ।

विद्युत महसुलबापत ८ करोड ४४ लाख ६ सय ९७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको थियो । प्राधिकरण (Nepal electricity authority) को रोल्पा वितरण केन्द्रले सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको थियो । १ करोड २० लाख रुपैयाँ अहिले तिरेर बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति गरेपछि बिहीवारदेखि नै उद्योगमा लाइन सुचारू गरिएको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले जानकारी दिए ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३, बुढागाउँमा रहेको रोल्पा सिमेन्ट प्रालि जिल्लामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्