परिवर्तनलाई उल्ट्याउन भयानक घेराबन्दी भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ
गोरखा,बैशाख १२ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले ठूलो बलिदानबाट प्राप्त उपलब्धीलाई उल्ट्याउन अहिले भयानक षडयन्त्र र घेराबन्दी भइरहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले मंगलबार गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजित भुकम्प स्मृति दिवस कार्यक्रममा बोल्दै उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सवै प्रकारका प्रयत्नहरुलाई असफल पारेर महान उपलब्धीहरुको रक्षा गर्नुपर्ने बेला आएको बताए ।
पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेताहरुलाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरि अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने बिभिन्न षडयन्त्र भइरहेको भन्दै उनले त्यसका बिरुद्ध सचेत रहन पनि सवैलाई आग्रह गरे। उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरि गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिए ।
‘नेपालमा राजनीतिक पार्टीहरुले ठूलो युगान्तकारी परिवर्तनका लागि सर्घष गरे, उनले भने, ‘यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत बिकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सवै प्रकारका प्रयत्नहरुलाई असफल पारेर महान उपलब्धीहरुको रक्षा गर्नु आबश्यक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा बिस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताए ।
उनले सरकारले बिपतबाट हुने क्षति न्युनिकरणका लागि बिपतको पूर्वसूचना प्रणालीलाई ब्यवस्थित गर्ने गरि काम गरिरहेको भन्दै बिगतका कमजोरीले भएका क्षतिलाई समिक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उनलेबि.स २०७२ को भुकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताए ।
‘पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकिय गाउँ लगायतको पहिचान दिएको थियो, उनले भने, २०७२ बैशाख १२ को भुकम्पले थप पहिचान पनि दिएको छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको बाह्रकिलो बारपाक सडक खण्ड कालो पत्रेको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।