वर्षाका कारण मूलपानी मैदानको खेल रद्ध, नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,बैशाख ११ । एसीसी प्रिमियर कपको समूह ए बाट नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
मूलपानी मैदानमा बिहान ९ बजे भएको वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।
तीन खेलबाट पाँच अंक पराउदैको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ ।
समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।
सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ।