नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु
नुवाकोट,बैशाख १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको छ ।
पञ्चकन्या गाउँपालिकाबाट पहिलो पटक श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ । प्रक्रिया सुरुसंगै पहिलो पटक सेवा लिनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का रविन्द्र भण्डारी रहेका छन् ।
भण्डारीले सेवा पाएपछि यसअघि काठमाडौँ गएर श्रम स्वीकृति लिनुपर्दाको झण्झटबाट मुक्ति पाएको बताए । ‘वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमवाली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन मिति २०८० वैशाख ०१ गते देखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृत र पुनः श्रम स्वीकृतका लागि गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्र मार्फत आवेदन गर्न सकिने बताइएको छ ।