खुलेको ४ वर्षपछि पाँच तारे होटल मेरियटको कारोबार १ अर्ब माथि
काठमाडौं,बैशाख ९ । एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेड (Everest Hospitality and Hotel Limited) को सञ्चालन नाफा एक वर्षको अवधीमा नै २४३ दशमलव ६२ प्रतिशतले बढेको छ । नेपालमा विदेशी पर्यटकको आगमन बढेसँगै कम्पनीले वित्तीय वर्ष २०२२ मा १ अर्ब २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडले काठमाडौंस्थित नक्सालमा ‘मेरियट’ (Marriott) को व्यवासायिक नाममा पाँच-तारे प्रिमियम होटल सञ्चालन गरिरहेको छ । करीब ११ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा २१४ कोठाहरू रहेका छन् ।
रेटिङ् कम्पनी केयर रेटिङ्स नेपाल (Care Ratings Nepal) का अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २९ करोड ८० लाख रुपयाँ र वित्तीय वर्ष २०२० मा ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोभिड महामारीपछिको पर्यटन क्षेत्रमा निरन्तर सुधार आएसँगै वित्तीय वर्ष २०२२ मा पर्यटकको आगमनमा वृद्धि भएसँगै होटलको व्यापार बढेको रिपोर्टमा उल्लेख गरिएको छ ।
होटलले रुम लजिङ र सेवाबाट ५२ प्रतिशत र बाँकी ४१ प्रतिशत भने होटलले फुड र बेभरेज विक्रीबाट आर्जन गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडले केयर रेटिङ्सबाट २ अर्ब ७२ करोड रुपैयाँको दीर्घकालिन कर्जा र १० करोड रुपैयाँको अल्पकालिन कर्जाको रेटिङ गराएको थियो । कम्पनीले केयर रेटिङ्सबाट दीर्घाकालिन कर्जाको लागि ट्रिपल बी माइनस र अल्पकालिन कर्जाको लागि ए थ्री रेटिङ पाएको छ ।
एमएस ग्रुप अफ कम्पनिजको लगानी रहेको कम्पनीको अध्यक्षमा सुमित कुमार अग्रवाल रहेका छन् । अग्रवाल भगवती स्टिल (Bhagawati Steel) को समेत अध्यक्ष रहेका छन् । यस्तै कम्पनीका प्रबन्ध निर्देशकमा गौरव अग्रवाल रहेका छन् ।