अनियमित विद्युतले उद्योग सञ्चालन खर्च बढेको उद्योगी-व्यवसायीको गुनासो, समाधान गर्न आग्रह
विराटनगर,बैशाख ९ । चार महीनादेखि विद्युत्को अनियमित आपूर्तिले सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगको सञ्चालन खर्च बढेको सम्बद्ध उद्योगी व्यवसायीले बताएका छन् । यसले उत्पादन लागत बढेको भन्दै उद्योग संगठन मोरङले समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
संगठनले हालै जारी गरेको विज्ञप्तिमा २०७९ पुसदेखि भोग्दै आएको विद्युत्को अनियमित आपूर्ति, बारम्बारको ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचना नदिई विद्युत् कटौती जस्ता कारण उद्योग व्यवसाय धराशयी भएको उल्लेख छ ।
‘वर्तमान विषम परिस्थितिमा पनि आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तुमाथिको परनिर्भरता कम गर्न र रोजगारी सृजना गर्न सहयोग पुर्याउँदै आएका उद्योग व्यवसाय विद्युत् आपूर्तिको समस्याले निर्बाध सञ्चालन नभए बन्द गरी उद्योगी/व्यवसायी सडकमा आउनुको विकल्प छैन,’ संगठनले भनेको छ । त्यसपछि उत्पन्न हुने विकराल अवस्थाप्रति गम्भीर हुन सम्बन्धित निकायलाई संगठनले चेतावनी दिएको छ ।
विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चापदार्थ खेर जाने, मिल÷मेशिनरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भई सञ्चालन खर्च तथा उत्पादन लागत बढेको संगठनले बताएको छ । यसले उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘औद्योगिक क्षेत्रको निर्बाध सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण घटकको रूपमा रहेको विद्युत् कुनैै पनि सूचना नदिई एवं विभिन्न कारण देखाएर कटौती गरिदिँदा उत्पादन लागत बढेको संगठनले बताएको छ । यसलाई उद्योगको मात्र नभई राज्यकै नोक्सानीको रूपमा समेत लिई समस्या समाधानमा प्रतिबद्ध हुन अनुरोध गरिएको छ ।
सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत् आपूर्तिको समस्याले भोग्नुपरेको नकारात्मक प्रभावप्रति संगठनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । यसमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिको समस्या समस्याका लागि पहल गरी सहज औद्योगिक वातावरण तयार गरिदिनुपर्नेमा संगठनले जोड दिएको छ ।