घाटैघाटामा चल्दैछ सरकार: लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा सवा २ खर्ब नाघ्यो



काठमाडौं,बैशाख ५ । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा झन् झन् बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट घाटा बढ्ने क्रमले निरन्तरता पाएको छ ।

गत भदौंसम्म नाफामा रहेको चालु आवको बजेट असोजदेखि भने घाटामा जानमा थालेको थियो । हालसम्म आउँदा बजेट घाटाको आकार झनै बढेको हो । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त बैशाख ४ गते सम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधीसम्म सरकारको बजेट घाटा २ खर्ब १६ अर्ब ४१ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधीमा सरकारले राजश्व, अनुदान, ऋण लगायतका माध्यमबाट ७ खर्ब २८ अर्ब १७ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, खर्च भने ९ खर्ब ४४ अर्ब ५८ करोड २८ लाख रुपैयाँ पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । यसरी समिक्षा अवधीमा बजेट घाटा उच्च मात्रामा भएको देखिन्छ ।

गत भदौसम्म सरकारको बजेट २८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँले नाफामा थियो । त्यस अवधीमा सरकारले १ खर्ब ६३ अर्ब २ करोड रुपैयाँ आम्दानी गर्दा खर्च भने १ खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । तर, असोज मसान्तसम्म आउँदा भने बजेट ४६ अर्ब ३ करोड ९७ लाख रुपैयाँले घाटामा गएको देखिन्छ । त्यो अवधीमा २ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ आम्दानी हुदाँ सरकारको खर्च भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भने बजेट घाटा निरन्तर बढ्दै गएको पनि महालेखाको तथ्यांकले देखाउछ ।

तथ्यांकअनुसार पुस मसान्तसम्म आउँदा बजेट घाटा बढेर ८१ अर्ब ५० करोड १८ लाख रुपैयाँ पुगेको थियो । पुस मसान्तसम्ममा सरकारको आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ थियो । तर, खर्च भने ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरि माघ मसान्तसम्म सरकारको बजेट घाटा बढेर १ खर्ब माथि पुगेको थियो । त्यसबेला बजेट घाटा १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ । माघ मसान्तसम्म सरकारको आम्दानी ५ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ हुदाँ खर्च भने ६ खर्ब ६७ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै, फागुन मसान्तसम्म आउँदा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ माथि पुगेको थियो । सरकारले गत माघ १७ गते बिभिन्न शिर्षकको खर्च कटौती गर्ने नीति लागू गरेका थियो । तर, त्यसपछि सरकारको बजेट घाटा झन् बढ्दै गएको तथ्यांकले पुष्टी गरेको छ ।

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण राजश्व संकलनमा संकुचन आएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ ।

आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ । सरकारले यो बर्ष १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, ९ महिना बितिसक्दा पनि लक्ष्यको ४७.८३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको सरकारी अधिकारीहरु बताउछन् ।

समिक्षा अवधिमा राजश्व बापत ६ खर्ब १९ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, गैर राजश्व मार्फत ६७ अर्ब ८७ करोड २७ लाख, अनुदान तथा ऋण मार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँ आम्दानी भएको छ । यसैगरि बिविध शिर्षकमा ३५ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरि समिक्षा अवधीमा सरकारको कुल खर्च ९ खर्ब ४४ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ । पुँजीगत अर्ब भने १ खर्ब ७ अर्ब ६२ करोड मात्रै छ । त्यसमा ७ खर्ब ७ अर्ब ९२ करोड ५ लाख बराबरको चालु खर्च मात्रै रहेको छ भने वित्तिय व्यवस्थापन खर्च १ खर्ब २९ अर्ब ४ करोड २३ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्