अर्थतन्त्रमा अप्ठ्यारा देखिएका छन्, सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्छ : अर्थमन्त्री



काठमाडौं,बैशाख ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र (ECONOMY) मा केही अप्ठ्यारा र व्यवधान रहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ FNCCI का नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा महतले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सृजना महसुस भइरहेको बताए । उनले भने , ‘यति हुँदा पनि केहि नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्छ ।’

उनले भने, ‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु,’ उनले भने, ‘सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीतिक विषय र आर्थिक दायित्वबीचको तादम्य नहुँदा कतिपय समस्या सृजना भएको उनको भनाइ छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ सँगसँगै लैजान नसकिएको उनले बताए । उनले राजनीतिक निर्णय एकपछि अर्को हुँदै गएको र त्यसमा प्रतिस्पर्धा हुँदा परिवेश र वास्तविकता अर्कै बनेको बताए ।

अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरिरहेको पनि उनले बताए । अहिले बैंकर्स संघले घटाएको ब्याजदरले अप्ठ्यारोलाई सहज बनाउन मद्दत पुग्ने महतको भनाइ छ । ‘निजी क्षेत्रले पनि वास्तविकता भन्नुहोस्, मौद्रिक नीतिमार्फत सम्बोधन गराउन सरकार तयार छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्