सुर्तीजन्य पदार्थ निषेध अभियानमा सरोकारवाला एकै ठाउँ
विराटनगर,बैशाख ३ । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग निषेध’ अभियानमा सरोकारवालाहरूले पनि साथ दिने भएका छन् । अभियान शुभारम्भको अवसरमा महानगरले आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाले महानगरले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् । छलफलका सहभागीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कठोर कदम चाल्न समेत महानगरलाई सुझाएका थिए ।
विभिन्न कलेज, विद्यालय, महिला समूह, आमा समूह लगायतका प्रतिनिधिले सुर्तीजन्य पदार्थको सेवनका कारण प्राणघातक रोग बढ्दै गएकाले उत्पादनमै रोक्नुपर्नेमा जोड दिएका थिए ।
सहभागी सबैले महानगरपालिकाको नगरसभाको निर्णयलाई स्वागत गर्दै अभियान सफल पार्न सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए । छलफलमा सहभागीले आफ्नो कार्यालयमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने प्रतिबद्धता व्यक्त गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । छलफललाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख काजीबहादुर बस्नेतले महानगरको निर्णय कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।
उनले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरे महानगरले कारबाही गर्ने बताएका थिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले पहिलो चरणमा व्यवहारमा परिवर्तन ल्याउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताए ।