सांग्रिलाका चार होटेलमा बहुराष्ट्रिय चेनको व्यवस्थापन



काठमाडौं,बैशाख १ । चर्चित पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा र चितवनमा लक्जरियस होटेल तथा रिसोर्टहरू विकास गरिने भएको छ । सांग्रिला होटेल एन्ड रिसोर्ट ग्रूपका चारओटा होटेल तथा रिसोर्टको व्यवस्थापन र विकास गर्ने समझदारी गरेर बहुराष्ट्रिय आतिथ्य कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स एन्ड रिसोर्ट ग्रुप (आईएचजी) पुनः नेपाल प्रवेश गर्न लागेको हो ।

यो ग्रूपअन्तर्गत अहिले काठमाडौंको लाजिम्पाट तथा पोखराको घरीपाटन र बेगनासमा रहेका सांग्रिला भिलेज रिसोर्ट र चितवनको मेघौलीमा रहेको रिसोर्टमा आईएचजीले आफ्ना ग्लोबल ब्रान्ड भित्र्याउने भएको हो । यसका लागि मंगलवार सांग्रिला ग्रूप र आईएचजीबीच समझदारी भएको छ । आईएचजीले यसअघि नेपालकै पुरानो पाँचतारे सोल्टी होटेलको व्यवस्थापन सम्हालेको थियो । यो बहुराष्ट्रिय कम्पनी उक्त होटेलबाट बाहिरिएपछि सांग्रिला होटेल ग्रूपसँग सहकार्य गर्दै पुनः नेपाल आएको हो ।

बहुराष्ट्रिय उक्त कम्पनीले सांग्रिलाको व्यवस्थापनका साथै होटेल तथा रिसोर्ट विकासमा शुरूदेखि नै सघाउनेछ, जसअनुसार सांग्रिलाका यी सबै होटेल तथा रिसोर्ट अहिलेको हस्पिटालिटी अवधारणाअनुसार ‘लक्जरी एन्ड लाइफस्टाइल सेग्मेन्ट’अनुसार विकास हुनेछन् । आईएचजीसँगको सहमतिपत्रमा हस्ताक्षर भएपछि सांग्रिला ब्रान्डका यी होटेल तथा रिसोर्ट होटेल इन्टरकन्टिनेन्टल काठमाडौं, होटेल इन्डिगो घरीपाटन, इन्टरकन्टिनेन्टल रिसोर्ट बेगनास लेक र इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन हुनेछ । 

सांग्रिला ग्रूपमा रहेका होटल अहिले निर्माणाधीन अवस्थामा छन् । यी होटलहरू १ देखि ४ वर्षभित्र खुल्ने आईएचजीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार इन्टरकन्टिनेन्टल काठमाडौं भने होटल सांग्रिलालाई पुनस् विकास गरेर बनाइनेछ । यो होटेलमा २२५ विलासी कोठा हुनेछन् । यस्तै होटेल इन्डिगो पोखरामा सय कोठा हुनेछन् । पोखरामै रहेको अर्को होटेल बेगनास रिसोर्ट र चितवनमा सञ्चालनमा आउने रिसोर्टमा भने ८०/८० ओटा कोठा हुने उक्त सूचनामा उल्लेख गरिएको छ । 

उक्त ग्रूपका प्रबन्ध निर्देशक (एमडी) प्रवीण पाण्डेले कोभिडपछि लक्जरियस लाइफस्टाइल सेग्मेन्टमा पर्यटकको आकर्षण बढेकाले आईएचजीसँगको सहकार्यमा नेपालमा सोही किसिमले होटेल तथा रिसोर्ट सञ्चालन गर्न लागेको बताए । ग्रूपको सबै होटेल तथा रिसोर्टको विकास र व्यवस्थापन सोही कम्पनीले गर्ने उनको भनाइ छ । ‘ग्रूपसँग पहिला नै जग्गा तथा आवश्यक सम्पत्ति थियो,’ पाण्डेले भने, ‘त्यसले गर्दा आईएचजी भित्र्याउन सहज भयो ।’

उनले इन्टरकन्टिनेन्टल ब्रान्डका साथै युवालाई लक्ष्य गरेर इन्डिगो ब्रान्ड पनि भित्र्याएको जानकारी दिए । मुलुकमा धेरै विदेशी मुद्रा खर्च गर्ने पर्यटक भित्र्याउन पनि थप सहज हुने उनको भनाइ छ । ग्रूपले मात्रै बजारीकरण गर्दा बढी खर्च भएको उनले बताए । बहुराष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा बजारीकरणमा कम खर्च हुने देखिएको बताइन्छ । आईएचजीको दक्षिणपश्चिम एशिया क्षेत्रमा मात्रै विभिन्न ब्रान्डमा ४७ होटेल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्