सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
महेन्द्रनगर,चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे ।
उनले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।’ प्रधानमन्त्री दाहालले भने।
स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे । ‘सरकारले डडेलधुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेलधुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उनले भने, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।’