ब्याजदर घटाउने विषयमा गम्भीर छलफल भइरहेको छ : अर्थमन्त्री



काठमाडौं,चैत २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने विषयमा गम्भीर छलफल भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले यस्तो बताएका हुन् ।

उनले बजेटको प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको पनि बताए । पूँजीगत खर्चलाई जहाँ आवश्यक छ र जसका लागि स्रोत उपलब्ध हुनसक्छ भनेर काम गर्नुपर्छ । छिटो नतिजा आउने काम प्राथमिकतामा पर्ने उनलेे स्पष्ट पारे ।

सबैलाई चित्त बुझाउने नाममा स्रोत बिनाको कार्यक्रम राख्ने काम नहुने पनि उनले बताए । त्यस्तै चालू तथा साधारण खर्च घटाउनका लागि सरकारले काम गर्नैपर्ने उनले बताए । अहिले राजस्व घटेको तथा बजारमा मन्दी देखिएको समयमा सरकारले वितरणका काम अलि कम गर्ने उनको भनाइ छ ।

निर्माण उद्योग र घरजग्गाको माग घटेका कारण बजारमा माग घटेको, सरकारी राजस्व घटेको तथा उच्च ब्याजदरका विषयमा सरकार सचेत भएको उनले बताए । ब्याजदर कम गर्न सकिने विषयमा निरन्तर छलफल भइरहेको र अधिकतम प्रयास गरिने उनले बताए ।

कार्यक्रममा अर्थसचिव तोयम रायले चालू खर्च भनिए र देखिएजस्तो उच्च दरले नबढेको बताए । बजेटको लेखांकनका कारण वा प्राविधिक कारणले चालू खर्च बढेको देखिए पनि वास्तविकरूपमा भनेजसरी नबढेको उनको भनाइ छ ।

चालू खर्च बढेको कुरा जसरी आएको छ, त्यसरी बढेको छैन । केही बढेको छ तर भनेजसरी होइन । हामी संघीयतामा गएपछि स्थानीय तहलाई हस्तान्तरणको रकम चालूमा जान्छ तर त्यसको परिचालन विकास निर्माणमा पनि हुने उनको भनाइ छ ।

कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्र समस्यामा रहेको, शेयर बजारलाई चाहिनेभन्दा बढी कसिएकोले धेरैको पूँजी परिचालन हुन नपाएको बताए । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउन ढिलो गरिए जनताले नेतालाई सडकमा लछारपछार गर्ने अवस्था आउने पनि बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सेजन अध्यक्ष जनार्दन बरालले नेपालले ढुंगागिट्टी, काठ, ऊर्जा र आईटी निर्यात गरेर राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्