आर्थिक मन्दीको असरः झण्डै १४ अर्बले घट्यो चाँदी आयात, बजार माग पनि सुस्तायो
काठमाडौं,चैत २३ । चाँदी आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा चाँदीको आयात ९०.५४ प्रतिशतले घटेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवका फागुन मसान्तसम्म १५ अर्ब ३६ करोड ६४ लाख ९ हजार रुपैयाँ बराबरको चाँदी तथा चाँदीका कच्चा पदार्थ नेपाल भित्रिएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने १३ अर्ब ९१ करोड ३४ लाख रुपैयाँले कमी हो । गत आवको सो अवधिमा १ लाख ६१ हजार ६७९ केजी बढी चाँदी आयात भएको थियो ।
चालु आवको फागुन मसान्तसम्ममा कुल १ अर्ब ४५ करोड २९ लाख ९० हजार रुपैयाँ बराबरको चाँदी र यसका कच्चा पदार्थ आयात भएको छ । चालु आवको आठ महिनामा कुल १५ हजार ८५६ केजी चाँदी आयात भएको हो । चाँदी आयातबाट १६ करोड ९६ लाख ९० हजार रुपैयाँ राजश्ज प्राप्त गरेको छ ।
गत वर्ष चाँदी आयात उच्च भएकाले सरकारले यसको आयातमा सरकारले कडाई समेत गरेको थियो । सरकारले चाँदीको भन्सार समेत बढाएको थियो । गत असोजमा बढ्दो आयातका कारण विदेशी सञ्चिति घट्दै गएपछि सरकारले भन्सार बढाएको हो ।
चाँदी आयातमा आर्थिक मन्दीको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले भने,–‘अहिले बजारमा चाँदीको माग कम छ, खपत पनि घटेको छ । जसले आयातमा पनि कमी आएको हो ।’ विश्व आर्थिक मन्दी र मूल्य वृद्धि लगायतका कारण चाँदी आयत भएको अध्यक्ष शाक्यले बताए । उनले भने,–‘आर्थिक मन्दीका कारण अधिकांश नेपाली उपभोक्ताहरुको खर्च गर्ने क्षमता पनि घटेको छ । जसले आयात समेत असर गर्यो ।’
चाँदी आयात ठुलो मात्रामा घटेको पनि बजारमा खासै अभाव भने नरहेको शाक्यको भनाई छ । उनका अनुसार अहिले दैनिक ६/७ सय केजी खपत हुने गरेको छ । तर, बैशाख अघि भने त्यसको तेब्बर खपत हुने गरेको उनको भनाई छ । ‘गत वर्षहरुमा जस्तो माग छैन, बजारमा चाँदीको अभाव पनि छैन, लगनको महिना अघिको जस्तो माग र कारोबार पनि देखिएको छैन’–अध्यक्ष शाक्यले भने,–‘चैत महिनामा लगन नभएकाले चाँदीको बजार माग एकदम छ । गत वर्ष जस्तो बैशाख महिना अघि अडर अहिले छैन, बजार माग एकदम कम छ । उपभोक्ताले नयाँ वर्ष र लगनको सिजन नै कुरेका छन् कि जस्तो लाग्छ ।’
नेपालमा चीन, भारत, यूएई, हङकङ, इटली, स्वीट्जरल्याण्ड लगायतका मुलुकबाट चाँदी तथा चाँदीका कच्चा पदार्थहरु आयात हुने गरेको छ । चालु आवको आठ महिनामा सबैभन्दा धेरै चाँदी र यसका कच्चा पदार्थ यूएईबाट हुने गरेको छ ।
चालु आवको आठ महिनामा यूएईबाट २७ करोड ७९ लाख ८४ हजार रुपैयाँ बराबरको चाँदी मात्रै आयात भएको छ । यूएईबाट २९ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको चाँदीको पाउडर नेपाल भित्रिएको हो ।
हङकङमाबाट भने ३५ करोड ८३ लाख २६ हजार रुपैयाँ बराबरको चाँदी र ४३ करोड ३० लाख ४५ हजार रुपैयाँ बराबरको सिल्भर प्लेट लगायतका अन्य चाँदी आयात भएको छ ।
चीनबाट ८ करोड ५० लाख ३८ हजार रुपैयाँ बराबरको ९२० केजी चाँदी तथा कच्चा पदार्थ नेपाल भित्रिएको छ । सो देशबाट ३ करोड ३० लाख चीनबाट ४ करोड १३ लाख ३५ हजर बराबरको चाँदी पाउडर, १ करोड ६ लाख रुपैयाँ बरारको सिल्भर प्लेट लगायतका अन्य चाँदी आयात भएको छ ।
यस्तै, स्टीट्जरल्याण्डबाट ४४ लाख ९१ हजार, इटलीबाट ७ लाख ७७ हजार र भारतबाट ४८ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।