आन्तरिकतर्फको हवाई भाडा घट्यो



काठमाडौं,चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन निर्देशन दिएको थियो । वायु सेवा सञ्चालक संघका अनुसार आगामी बुधवारदेखि लागू हुनेगरी नयाँ भाडादर कायम गरिएको छ, जसअनुसार काठमाडौं–धनगढीको भाडा सबैभन्दा धेरै ४४० रुपैयाँ घटेको छ ।

काठमाडौं–सिमराको भाडा सबैभन्दा कम ९० रुपैयाँ घटेको छ । नयाँ भाडादरअनुसार काठमाडौंबाट हुने ‘माउन्टेन फ्लाइट’को भाडा ३४५ रुपैयाँ घटेको छ । यसैगरी काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रुपैयाँ, काठमाडौं–भरतपुर १०५ रुपैयाँ र काठमाडौं–पोखरा हवाई भाडा १५५ रुपैयाँ घटेको छ ।

संघका अनुसार काठमाडौं–भैरहवा २०५ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ३२५ रुपैयाँ, काठमाडौं–तुम्लिङटार १८५ रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रुपैयाँ र काठमाडौं–राजविराजको हवाई भाडा २०५ रुपैयाँ घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्