‘अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा सरकार गम्भीर छ’



काठमाडौं,चैत २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीर रूपमा लिएको बताएका छन् । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ ।

मंगलवार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर लगायत सरोकारवाला निकायका सचिवसँग पनि छलफल गरिरहेको छु ।’ लक्ष्यअनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीसँग आफूले जानकारी लिइरहेको मन्त्री महतको भनाइ छ । आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले लय समाउने उनको अनुमान छ ।

चेम्बरको टोलीले करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाव दिएको थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्ने र यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्ने सुझाव दिएका थिए ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिएका थिए । बिल लिने/दिने व्यवस्थालाई पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन उनले सुझाए ।

अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे ।

पूँजीगत खर्च कार्यान्वयनको अवस्थाबारे त्रैमासिक पुनरवलोकन गरी कार्यान्वयन गरिनुपर्ने चेम्बरको सुझाव छ । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्