विद्युतको आन्तरिक खपत वृद्धि प्राथमिकतामा : ऊर्जामन्त्री
काठमाडौं,चैत २१ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत्को आन्तरिक खपत बढाउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधार सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता बढाइने बताए ।
जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रूख कटानमा देखिएको समस्याबारे आफू जानकार रहेको उनले बताए । पूर्व वनमन्त्री समेत रहेका बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताए । सार्वजनिक संस्थाहरूमध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापित गरेको उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिक रूपमा विद्युत् खपत बढाउन प्रसारण एवं वितरण प्रणालीका संरचनाको सुधार तथा विस्तार, रणनीतिक ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए ।
‘देशभित्र खपत बढाउन र बढी भएको विद्युत् निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनासहित आगामी पाँच वर्षका लागि तय गरिएका योजनाको कार्यान्वयन गर्न साढे ८ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘तर यसका लागि सरकारी स्रोत पर्याप्त छैन । सरकार, प्राधिकरण र दातृ निकायबाट स्रोतको व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’