बेमौसमी वर्षा : लुम्बिनीमा ७५ प्रतिशत गहुँबालीमा क्षति भएको अनुमान, भित्र्याउने खर्च महँगियो
लुम्बिनी,चैत २० । दुई दिनको बेमौसमी वर्षाले देशभरका विभिन्न ठाउँमा गहुँबालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रवार र शनिवारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको हो ।
हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले किसानलाई चिन्तित बनाएको छ ।
कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजाएको छ । “खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ”, उनले भने, “दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।”
कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए । उनले भने, “हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ ।
अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उनको भनाइ छ । “यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन”, उनले भने, “जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण गर्न सकिन्थ्यो कि ?”
कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित ४ प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना छ । अहिलेसम्म रुपन्देहीमा करीब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको उनले बताए । खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको उनको भनाइ छ ।
यस वर्ष रूपन्देही जिल्लामा २६ हजार ७०२ हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ । प्रवक्ता बनियाँले भने, “सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ ।” गत वर्ष २६ हजार ६८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन १ लाख २ हजार २५० मेट्रि