कालीमाटीमा मकवानपुरदेखि दाङसम्म १९ जिल्लाका तरकारी : ‘उपभोक्तासम्म पुग्दा १५% खेर’



काठमाडौं,चैत २० । देशको सबैभन्दा ठूलो र पुरानो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार मा मुख्य गरी भारत र चीनसहित देशका १९ जिल्लाबाट तरकारी, फलफूल, माछा र मसला भित्रिने गर्छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, बारा, चितवन, मकवानपुर, धादिङ, काभ्रे, दोलखा, गोरखा, नवलपरासी, नुवाकोट, पर्सा, रामेछाप, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सल्यान, दाङसहितका जिल्लाबाट कालीमाटी फलफूल तथा तरकारी बजार (Kalimati fruit and vegetable market) ले नियमित रूपमा तरकारी र फलफूल भित्र्याउने गर्छ ।

दैनिक ४ करोड रुपैयाँसम्मको कारोबार हुने कालीमाटी बजारमा आन्तरिक स्रोतबाट भित्रिने फलफूल र तरकारीमा सबैभन्दा बढी अंश मकवानपुरको छ । मकवानपुरबाट १७ दशमलव ७७ प्रतिशत तरकारी र फलफूल भित्रिने गरेको तथ्यांकले देखाएको छ । त्यसैगरी सबैभन्दा कम दाङबाट भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तथ्यांकमा उल्लेख भएका जिल्लाबाहेक अन्य जिल्लाबाट समेत कालीमाटीमा तरकारी भित्रिने तर परिमाण निकै सानो भएकाले छुट्टै तथ्यांक राख्ने चलन नभएको बताए ।

‘गतवर्ष मात्रै कैलाली, कञ्चनपुर, बर्दिया र सुर्खेतसहित ५० भन्दा बढी जिल्लाबाट कालीमाटीमा तरकारी भित्रिएको थियो । तर, त्यो परिमाण निकै सानो भएकाले हामीले त्यसको तथ्यांक अन्य शीर्षकमा राखेका छौं,’ उनले भने । उनका अनुसार आन्तरिक बजारबाट बढीजसो तरकारी आयात हुन्छ । भारतबाट माछा, आलु र प्याज (Potato and onion) बढी मात्रामा भित्रिने गर्छ । फलफूल, लसुन र मसला चीनबाट भित्रिने गरेको छ ।

आलु र प्याजमा भारतको भर पर्नुको विकल्प नभएको श्रेष्ठ बताउँछन् । सरकारको तथ्यांकअनुसार नेपालमा २ लाख ८९ हजार मेट्रिक टन प्याज र ३३ लाख २५ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ । यतिले आन्तरिक माग नधान्ने हुँदा भारतको भर पर्नुपरेको हो ।

तरकारी तथा फलफूल उत्पादन हुने स्रोत जिल्लाबाट कुनै पनि तरकारी वा फलफूल काठमाडौंसम्म आइपुग्दा त्यसको मूल्य २० प्रतिशतसम्म बढ्ने गर्छ । त्यो चिज उपभोक्तासम्म पुग्दा मूल्य ८० प्रतिशतसम्म बढ्ने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।

उनका अनुसार जिल्लाबाट फलफूल र तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर जान्छ । खुद्रा व्यापारीले कालीमाटीबाट किनेर उपभोक्तासम्म पुर्‍याउँदा ८ देखि १० प्रतिशत खेर गइसकेको हुन्छ । त्यसमाथि ढुवानी भाडा र श्रमिक खर्च जोड्दा फलफूल र तरकारीको मूल्य उपभोक्तासम्म पुग्दा स्रोतमा भन्दा निकै महँगो भइसक्छ । तरकारीको स्रोतबाट उपभोक्तासम्म पुग्दा खेर गएको फलफूल वा तरकारीको मूल्य पनि उपभोक्तामाथि पर्ने हुँदा मूल्यवृद्धि उच्च देखिने हो ।

प्रतिक्रिया दिनुहोस्