अर्थतन्त्र कमजोर बनेको भन्दै विज्ञको चिन्ता, राष्ट्र बैंक भन्छ– आत्तिनुपर्ने अवस्था छैन
काठमाडौं,चैत १६ । आर्थिक क्षेत्रका जानकार एवं पूर्वउच्च अधिकारीहरूले सरकारलाई आर्थिक अवस्था सुधारमा गम्भीर बन्न आग्रह गरेका छन् ।
संसदीय अध्ययन तथा विकास संस्थापनाले मंगलवार राजधानीमा गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’ शीर्षक अन्तरक्रिया कार्यक्रममा उनीहरूले सरकारले सुधारका कार्यक्रम ल्याउन ढिलाइ गर्न नहुने बताए ।
विज्ञहरूले देशको आर्थिक स्थिति दिनानुदिन कमजोर बन्दै गएको बेला सरकारले अवस्था चिन्ताजनक नरहेको भनेर समय खेर फाल्न नहुनेमा जोड दिए ।
पूर्वसभामुख तथा संस्थापनाका अध्यक्ष दमननाथ ढुंगानाले सर्वसाधारणको जनजीवन दिनप्रतिदिन बिग्रिँदै गएको बताए । ‘यो कठिन अवस्था हो । अहिलेको स्थितिलाई सहज बनाउने मार्गमा अग्रसर हुनुपर्यो,’ उनले भने ।
पूर्वमन्त्री एवं भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले बैंकहरूबारे व्यापक गुनासो आइरहेको भन्दै प्रश्न गरे, ‘अर्थतन्त्रका सबै सूचकांक खुम्चिँदा पनि बैंकहरूमा त्यसको खासै प्रभाव किन परेन ?’
उपाध्यायले शुरूमा व्यापक मात्रामा वित्तीय संस्थाको लाइसेन्स वितरण, पछि फोर्स मर्जरको नीतिमार्फत नियन्त्रण गर्न खोज्नुलाई अनुचित भन्दै नियामकहरूले दीर्घकालीन हितलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अहिले व्यापारघाटा बढेको, राजस्व घटेको, विकास कार्यले गति लिन नसकेको बताए । त्यस्तै चालू खर्च बढेको, पूँजीगत खर्च कम भएको, लगानीमा कमी आएको, बैंकबाट ऋण पाउन समस्या भइरहेको तर्फ सजग बन्न उनले आग्रह गरे ।
अहिलेको समस्यामा नीतिगत असहजता पनि जिम्मेवार रहेको भन्दै पोखरेलले थपे, ‘नीतिगत असहजताले पनि व्यावसायिक वातावरणमा समस्या खडा गरेको छ । असहज नीतिले गर्दा कतिपय अवस्थामा व्यवसायी नराम्रो काम गर्न पनि बाध्य हुन्छन्,’ उनले भने । विप्रेषणमाथि बढी निर्भर बन्दै गएको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्नेमा पनि पोखरेलले जोड दिए ।
अर्थविद् अच्युत वाग्लेले राजस्व निकै कम परिणाममा उठेको तर्फ सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार अहिले जस्तो राज्यको आम्दानीले प्रशासनिक खर्च पनि धान्न नसक्ने अवस्था बिरलै मात्र आउँछ । उनले थपे, ‘व्यवसायीमा पनि भन्सारमा वास्तविकभन्दा निकै कम मूल्य देखाउने जस्तो नैतिकताको अभाव देखिन्छ । त्यस्तो हुनु भएन व्यावसायिक नैतिकता देखिनुपर्यो ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिले बजार मागमा निकै नै कमी आएको बताए । माग सृजना नै कम भएपछि व्यवसाय अप्ठ्यारोमा परेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अहिलेको चर्को ब्याजदरले व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको भन्दै ब्याजदरलाई एकल अंकमा झार्ने निर्देशन दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । आर्थिक अभियानबाट