दशकपछि सकियो अपर सोलुको निर्माण, ‘भूकम्प र कोरोनाका बाबजुद १८ करोडमै उत्पादन’



काठमाडौं,चैत १५ । २०६९ पुसमा विद्युत खरीदविक्री सम्झौता भएर २०७० मै निर्माणमा गएको अपर सोलु जलविद्युत आयोजना अनेकौ व्यवधानकाबीच २०७९ चैतमा निर्माण सम्पन्न भएको छ ।

पहिलोपटक निर्माण शुरू भएको ७ महीनामै अख्तियारमा मुद्दा परेपछि २०७१ भदौमा आयोजनाको लाइसेन्स खोसिएको थियो । तर प्रवर्द्धक कम्पनी बेनी हाइड्रोपवारले २०७३ असारमा आयोजनाको लाइसेन्स फिर्ता लिन सफल भयो ।

२०७४ देखि निर्माणमा गएको आयोजनाले कोभिड संक्रमणको समयमा करीब ३ वर्षसम्म निर्वाधरुपमा काम गर्न पाएन । यसैकारण आयोजना २०७९ चैतमा आएर पूरा भएको कम्पनीले बताएको छ ।

साढे ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ हाराहारीमै निर्माण सम्पन्न भएको बेनी हाइड्रोपवार कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले बताए । अनेकौ बाधा व्यवधान आउँदा पनि आयोजनाको प्रतिमेगावाट लागत अरु आयोजनाको तुलनामा कम नै रहेको उनको भनाइ छ । अहिले विद्युत आयोजनाको औसत प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा बढी रहेको पाइन्छ ।

सोलुखुम्बुको बेनी (सल्लेरी)मा निर्माण सम्पन्न भएको आयोजनाको चैत १३ गते सोमवारदेखि सुख्खा परीक्षण शुरू भएको कार्कीले बताए । आगामी शुक्रवारदेखि आयोजनाले विद्युत उत्पादन नै गरेर परीक्षण गर्ने र आइतवारसम्म नेपाल विद्युत प्राधिकरणको प्रसारणलाइनमा जोड्ने योजना रहेको उनले जानकारी दिए ।

१८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको अनुमति लिएपनि आयोजनाले अहिले १९ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । आयोजनाको हेड बढाउँदा करीब २ मेगावाट थप विद्युत उत्पादन सम्भव भएको कार्कीले बताए ।

१८० मिटर ग्रस हेड रहेको आयोजनामा २ हजार ४०० मिटर सुरुङ र १ हजार १०० मिटर पेनस्टक पाइपमार्फत सोलुखोलाको पानीलाई विद्युतगृहमा खसालेर १९ दशमलव ८ मेगावाट विद्युत उत्पादन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्