अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ आधा सस्तियो, समायोजन नगर्न निगमको बहानाबाजी
काठमाडौं,चैत १३ । अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ब्यापक मात्रामा सस्तिरहेको छ । लण्डन बजारको विक्री मूल्यका आधारमा प्रतिब्यारेल कच्चा तेलको भाउ ७५ डलरभन्दा कम भइसकेको छ, जुन केही महिनाअघि १३० डलर हाराहारी पुगेको थियो । अघिल्लो हप्ता कच्चा तेलको मूल्य ६६ डलरसम्म झरेको थियो ।
यसरी अन्तरराष्ट्रिय बजारमा तेलको भाउ आधा घटिसक्दा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य ज्यूँका त्यूँ छ । सरकारले पुर्वाधार आयोजना बनाउने भनेर जम्मा गरेको राजस्व पनि छुट दिँदा समेत नेपाल आयल निगमले भाउ घटाउन चाहेको छैन । आयकल निगम अहिले पनि नेपाल सरकारलाई ६ अर्ब र भारतीय आयल कर्पोरेशनलाई ६ अर्बभन्दा बढी रकम तिर्न बाँकी भएकाले अझै पनि घाटा पूर्ति नभएको बताइरहेको छ ।
गत जेठ अन्तिम साता ‘इण्डियन बास्केटमा पनि कच्चा तेलको भाउ १३० डलर नजिक पुगेको थियो । नेपालले भारतबाटै तेल किन्ने भए पनि इण्डियन बास्केट नभएर ब्रेण्टको भाउलाई आधार मानेर मूल्य तय हुने गरेको छ । भारतीय आयल निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा नेपाल आयाल निगमलाई नयाँ मूल्य सूची पठाउँछ ।
यसरी प्राप्त हुने मूल्य सूचीका आधारमा आयल नियमले आंशिक स्वचालित मूल्य प्रणाली लागू गर्ने भनिएको थियो । तर विदेशमा कच्चा तेलको भाउ बढ्दै जाँदा नेपालमा पनि भाउ बढाएको बढाई गर्ने आयल निगमले बाह्य बजारमा मूल्य घट्दा भने उपभोक्तामाथि महँगीको भारी थोपरिरहेको छ ।
नयाँ मूल्य सूची अनुसार प्रतिसिलिण्डर खाना पकाउने ग्यासमा करीब ६ सय रुपैयाँ घाटा भए पनि पेट्रोल र डिजेलमा उल्लेख्य नाफा भएको निगमका अधिकारीहरु बताउँछन् । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ १५ महिनायताकै सस्तो भइसकेको छ । भारतले पनि यही मार्च १६ मा सस्तिएको मूल्यसूची पठाएको हो । तर आयल निगमले उपराष्ट्रपति निर्वाचनका कारण देखाएर उक्त मूल्य सूची नै सार्वजनिक गरेको छैन ।
त्यसो त, स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले हरेक १५ दिनमा आउने नयाँ मूल्य सूची र यसले नेपाली बजारको मूल्यमा घाटा नाफाको अवस्था दर्शाउने विवरण आफ्नो वेवसाइटमा राख्ने गरेको थियो । उक्त विवरणमा पनि निगमलाई घाटा परेको छ भने तथ्यांक राख्ने र नाफा भएको बेलाको तथ्यांक नै नराख्ने गरिएको छ । यसले नागरिकको सूचनाको हक हनन भएको छ ।
पछिल्लो पटक गएको जनवरी ९ अर्थात् पुस अन्तिम सातामा ‘अपडेट’ भएपछि उक्त तथ्यांक अध्यावधिक गरिएको छैन । किन भने ५ महिना अघिदेखि नै आयल निगमलाई पेट्रोलियम पदार्थमा फाइदा हुँदै आएको थियो । लामो समयसम्म फाइदा उठाएर पनि निगमले न त सरकारको ऋण र भारतको बक्यौता अपेक्षा गरेजसरी घटाउन सकेको छ, न उपभोक्तालाई नै सस्तोमा इन्धन उपलब्ध गराएको छ ।
अन्तरराष्ट्रिय बजारको यस्तो छ आँकडा
आजभन्दा ५०–५२ वर्षअघि ब्रेण्ट क्रुड भनिने कच्चा तेलको भाउ २ देखि ४ डलरको बीचतिर थियो । जुन २०६५ सालको असार साउनतिर सबैभन्दा महँगो हुन पुग्यो । त्यसताका यसको मूल्य प्रतिब्यारेल १४७.५ डलरसम्म पुगेको थियो । यो हालसम्मकै कीर्तिमानी महँगी हो ।
पछिल्लो पटक सन् १९९८ को एसियाली वित्तीय संकटका बेला तेलको भाउ प्रतिब्यारेल १० डलरसम्म झरेको थियो । त्यसपछि यो विन्दुमा फर्किन नसके पनि २०७६ चैतमा कोभीड सुरु भएपछि तेलको भाउमा ब्यापक गिरावट आयो र वैशाखताका यसको मूल्य २० डलर प्रतिब्यारेलसम्म झरेको थियो ।
अन्तरराष्ट्रिय संस्थाहरुले सन् २०५० सम्म पनि कच्चा तेलको भाउ प्रतिब्यारेल १९५ डलर छेउछाउ रहनसक्ने पुर्वानुमान गरेका छन् । यसले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ अचाक्लि महँगिने होइन, अमेरिकी डलरको तुलनामा हाम्रो मुद्राको अवमूल्यन्को भार भने हामीलाई बढी पर्ने गरेको छ ।
उदाहरणका लागि सन् २००८ को जुलाईमा डलरको भाउ ७० रुपैयाँभन्दा पनि सस्तो थियो । त्यही १ डलर किन्न आजको दिनमा १३२ रुपैयाँभन्दा धेरै पैसा खर्चनु परिरहेको छ । यसरी प्रतिब्यारेल १४७ डलर पुगेको बेलामा नेपाली मुद्राको विनिमय दरका कारण १० हजार ३ सय रुपैयाँ पथ्र्यो ।
अहिले ब्यारेलको ७५ डलरमा किन्न पाउँदा पनि नेपाली मूल्यमा १० हजार हाराहारी नै मूल्य पर्छ । आगामी दिनमा डलरको भाउ झन् बढ्दै जाने हो भने यस्ता विदेशी उत्पादन किन्न नेपालले अहिलेभन्दा धेरै बढी मूल्य चुकाउनु पर्नेछ ।