कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव
काठमाडौं, चैत ८ । लामो समयदेखि काठमाडौंको न्युरोडमा लत्ताकपडाको व्यापार गर्दै आएका धनञ्जय महर्जनको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो । उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका थिए । तर अहिले उनको पसलमा मुस्किलले ४०-५० हजार रुपैयाँको व्यापार पनि हुँदैन ।
‘बजारमा पैसा छैन। ग्राहक पनि आउन छाडे,’ महर्जनले भने। व्यापारबारे जिज्ञासा राख्दा उनले भने, ‘पैसा कहाँ हरायो रु राष्ट्र बैंकलाई सोधिदिनुपर्यो । न ग्राहक आउँछन् न उधारो रकम नै उठ्छ ।’ महर्जनको बुझाइमा बजारमा पैसा नभएकाले ग्राहक आएका छैनन्। बक्यौता रकम पनि उठेको छैन ।
बजारमा पैसा छैन । पैसा कहाँ हरायो भन्ने महर्जनमात्र एक्ला होइनन् । अधिकांश उद्योगी, व्यापारीको चासो र चिन्ता यही छ । उद्योगी, व्यापारीमात्र नभएर मुलुकको अर्थतन्त्रको नेतृत्व गर्नेले पनि यसको जवाफ खोज्दै हिँडेका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको एक कार्यक्रममा बजारबाट पैसा हराएकाले खोजी गरिरहेको बताएका थिए । ‘बजारबाट पैसा कहाँ हराएको छ, म खोज्दै छु’,शर्माले भने, ‘कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द भएको छैन। त्यसको खोजीमा म लागेको छु ।’ शर्माले यसो भनेको र उनी मन्त्रीबाट हटेको महिनौं भयो । बजारमा अहिले पनि पैसा नभएको भन्दै उद्योगी, व्यापारी छटपटाइरहेका छन् ।
यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।