अन्तत : दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किए डोनल्ड ट्रम्प, ‘म फर्किएँ’



वाशिङ्टन डीसी (अमेरिका),चैत ५ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् ।

शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा ‘म फर्किएँ’ शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै आफू फर्किएको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि ‘यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ’ भन्दै गरेको दृष्य पनि छ ।

अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । तर अर्बपति व्यापारी एलन मस्कले आफ्नो स्वामित्वमा लिएपछि ट्विटरले उनको खाता फकुवा गरिदिएको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा तथा  हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताएको थियो ।

आगामी राष्ट्रपतीय चुनावमा फेरि पनि उम्मेदवारी दिन चाहेका ट्रम्पलाई विभिन्न सामाजिक सञ्जालका खाता फुकुवापछि ट्विटर, फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सीहरु

प्रतिक्रिया दिनुहोस्