रिपोको ब्याजदर फेरि न्यून विन्दुमा



काठमाडौं,चैत ३ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७ दशमलव ७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८ दशमलव ५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १० दशमलव १० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए ।

माघ ५ गते रिपोको ब्याजदर ७ दशमलव ५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८ दशमलव ५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् । चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपो/रिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७ दशमलव शून्य १ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो । राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपो/रिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ ।

तरलताको अवस्था सहज हुँदै गए पनि उच्च ब्याजदरका कारण कर्जा विस्तार हुन सकेको छैन । चैतदेखि लागू हुने गरी बैंक, वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भने कर्जाको प्रिमियम दर पनि १ प्रतिशत विन्दुले घटाएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार चैतदेखि बैंकहरूले स्प्रेडदर घटाउनुपर्ने भएकाले वैशाखदेखि कर्जाको ब्याजदर सस्तो हुने अपेक्षा गरिएको छ  ।

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरी ओभरनाइट रिपोको ब्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ७ प्रतिशत कायम गरेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा लिने क्रम समेत घटिरहेको छ ।

बिहीवार स्थायी तरलता सुविधाअन्तर्गत ६ करोड र ओभरनाइट रिपोअन्तर्गत ३० करोड रुपैयाँ मात्र कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्