अलैंची निर्यात उत्साहजनक
काठमाडौं,फागुन २८ । अलैंचीको मूल्य बढे पनि यसको निर्यात बढेको छ । भारतमा अलैंची उत्पादन घटेर माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ उकालो चढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा मौद्रिक मूल्यअनुसार अलैंची निर्यात ८५ प्रतिशतले बढेको छ ।
नेपाल अलैंची व्यवसायी महासंघका अनुसार माग बढेसँगै अलैंचीको मूल्य प्रतिमन १३ हजार रुपैयाँसम्मले बढेको छ । ४० किलोको एक मन हुन्छ । मूल्य बढेसँगै निर्यात पनि बढेको हो । केन्द्रको तथ्यांकअनुसार गत आवको पहिलो ७ महीनामा २ अर्ब ६४ करोड ३० लाख रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको थियो । उक्त मूल्यमा २ हजार ९ सय ९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो ।
चालू आवको सोही अवधिमा अलैंची निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ हाराहारी पुगेको छ । निर्यात परिमाण पनि ६ हजार १ सय १७ मेट्रिक टन पुगेको छ ।
महासंघका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष नेपालसँगै भारतमा समेत अलैंची उत्पादन घटेको बताए । गतवर्ष ५० हजार बोरा अलैंची उत्पादन गरेको भारतले यस वर्ष २० हजार बोरामात्रै उत्पादन गरेको उनको भनाइ छ । यसअघि १ लाख २० हजार बोरासम्म अलैंची उत्पादन गर्दै आएको नेपालले पनि यस वर्ष १ लाख ५ हजार बोरामात्रै उत्पादन गर्न सकेको छ ।
एकातिर उत्पादन घट्नु, अर्कोतिर बजार माग बढ्नुको संयोगले मूल्य बढेको तथा मूल्य बढेसँगै निर्यात पनि बढेको उनले बताए । ‘गतवर्ष भारतको आफ्नै उत्पादन पनि बढी भएकाले नेपालको अलैंची खासै निर्यात हुन सकेको थिएन । जसले गर्दा नेपालमा अलैंचीको स्टक धेरै थियो,’ उनले भने, ‘अहिले माग पनि बढ्यो र त्यही स्टक अलैंची एकैचोटि निर्यात हुँदा परिमाण बढी देखिएको हो ।’
पछिल्लो ४ महीनामा जेजे (एक नम्बर) अलैंचीको मूल्य प्रतिमन २७ हजार रुपैयाँबाट बढेर ४० हजार रुपैयाँ पुगेको छ । एसडी (दुुई नम्बर) अलैंचीको मूल्य पनि प्रतिमन २६ हजार रुपैयाँबाट बढेर ३९ हजार रुपैयाँ कायम भएको छ । चलनचल्ती वा तीन नम्बर अलैंचीको मूल्य २५ हजार रुपैयाँबाट बढेर ३८ हजार रुपैयाँ प्रतिमन कायम भएको छ ।
अलैंचीको निकासी मूल्य बढे पनि त्यसबाट किसानले लाभ पाएका छैनन् । अलैंची भित्र्याउने समयमा एक नम्बर अलैंचीको मूल्य २७ हजार रुपैयाँ प्रतिमन थियो । किसानको हातबाट बिचौलियाको हातमा गइसकेपछि मूल्य बढ्नाले किसानहरू मर्कामा परेको अध्यक्ष भट्टराईले बताए ।
नेपालमा उत्पादन हुने मसला बालीमध्ये उत्पादन र क्षेत्रफलका आधारमा अदुवा अग्रस्थानमा छ । अलैंची अन्तिम स्थानमा पर्छ । नेपालमा करीब १ हजार ७ सय हेक्टर जमिनमा अलैंची खेती हुने गरेको सरकारी तथ्यांक छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत राजन परियारले पनि गतवर्ष स्टक रहेको अलैंची एकैपटक बजारमा आएकाले निर्यात बढेको हुन सक्ने बताए । यससँगै पछिल्लो समय अलैंचीको मूल्य पनि बढेकाले व्यापारीले आफूसँग भएको अलैंची निर्यात गरे । यसले गर्दा निर्यात परिमाण बढेको हुन सक्ने उनको भनाइ छ ।
यसअघि पाकिस्तान र भारतमा सीमित नेपाली अलैंची यस वर्षदेखि खाडी मुलुकमा समेत निकासी हुन थालेको छ । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्य वस्तुलाई अर्ग्यानिक रजिस्टर दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले पनि यसैवर्षदेखि ती मुलुकमा अलैंची निर्यात गर्न हलाल सर्टिफिकेट प्राप्त गरेको छ ।