सुदूरपश्चिममा कृषि उत्पादन बढ्यो
धनगढी,फागुन २६ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढेको छ । खेती गर्ने तरीकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषि उत्पादनमा वृद्धि भएको हो ।
कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषि उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिए । ‘कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको छ, फलफूल उत्पादनमा पनि उल्लेख्य सुधार भएको छ,’ उनले भने । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७४/७५ मा मुख्य खाद्यान्न बाली उत्पादन हुने क्षेत्रफल ३ लाख १६ हजार ७८९ हेक्टर रहेकोमा आव २०७८/७९ मा ३ लाख ६३ हजार ७९३ हेक्टर पुगेको छ ।
खाद्यान्न बालीको उत्पादकत्व २ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टरबाट बढेर ३ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । प्रदेशको धान तथा गहुँको उत्पादनमा ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
बीजवृद्धि कार्यक्रमतर्फ धान, गहुँ, मकै, आलु, तरकारी, तोरी र मसुरो बालीको बीउ उत्पादन भइरहेको छ । यस्ता बाली लगाइने क्षेत्रफल २ हजार ५६५ हेक्टरबाट ३ हजार ३९० हेक्टर पुगेको छ । प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्न किसान समूह, किसान सहकारीमार्फत खाद्यान्न र तरकारी बालीको बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ ।
कैलाली, डँडेलधुरा, बैतडी, र कञ्चनपुरमा १८ ओटा बीउ प्रशोधन उद्योग तथा कम्पनी स्थापना भएपछि उत्पादित बीउको बजारीकरणमा सहयोग पुगेको छ । साथै उत्पादित बीउ विभिन्न जिल्लामा निर्यात भएको छ । कष्टम हायरिङ सेन्टर स्थापना गरी कृषि यान्त्रिकीकरणमा सहयोग उपलब्ध गराइएको छ ।
यो अवधिमा करीब ४ हजार ४९१ परिवारलाई पावर टिलर, मिनिटिलर, रिपर, रोटाभेटर लगायत कृषि उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको ७४ बिघा जग्गा भाडामा लिई धान, गहुँ, तोरी, तिल आदि बालीको बीउ उत्पादन भइरहेको छ ।