मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने विद्युत प्राधिकरणको चेतावनी



काठमाडौं,फागुन २६ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् विक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । 

१०२ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेसनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो । 

प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सवस्टेसन निर्माण भइरहेको छ ।

तामाकोसी तथा सुनकोसी र त्यसका  सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारण लाइन र सवस्टेसन निर्माण शुरू गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सवस्टेसनको बुधवार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सवस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नो तर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौँ र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सवस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, बेहोरिरहेको समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।

रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सवस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सवस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । 

“मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सवस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सवस्टेसन निर्माणमा ढिलाइ गर्ने ?”, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने  । 

प्रतिक्रिया दिनुहोस्