सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य



काठमाडौं,फागुन २४ । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँजर, बकुला, भन्टालगायत मौसमी तरकारीको मूल्य बढेको हो ।

अघिल्लो साता १७ रुपैयाँ किलो औसत थोक मूल्य रहेको स्थानीय काउलीको भाउ मंगलवार किलोको ४० रुपैयाँ पुगेको छ । यो १ सय ३५ प्रतिशतको वृद्धि हो । १७ रुपैयाँ किलोको तराई गाँजरको मूल्य ३५ प्रतिशतले बढेको देखिन्छ । लोकल गोलभेडाको मूल्य २९ प्रतिशतले बढेको छ । त्यसैगरी बकुला ४६, ब्रोकाउली ६०, बरेला ८८ र रातो मुला ६८ प्रतिशतले महँगिएको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिउँदे तरकारीको सिजन सकिन लागेकाले मूल्य बढेको हुनसक्ने बताए । ‘यसलाई अचाक्ली मूल्य बढेको मान्न मिल्दैन तर सामान्य अवस्थाको भन्दा त बढेकै हो,’ उनले आर्थिक अभियानसँग भने, ‘एकातर्फ हिउँदे तरकारीको सिजन सकिन लाग्यो अर्कातर्फ किसानले गर्मी मौसमका लागि रोपेको तरकारीले उत्पादन दिन शुरू भइसकेको छैन । यसैले गर्दा मूल्य बढेको हुनुपर्छ ।’ अहिले भोजभतेरको सिजन पनि भएकाले काउली, बन्दा, गाँजर, मुलालगायत तरकारीको माग बढी छ, जसको प्रभाव मूल्यमा परेको हुन सक्ने प्रवक्ता श्रेष्ठको अनुमान छ ।

केही समयअघि मात्रै उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए । त्यसको केही सातामै ‘अफसिजन’ शुरू भएर तरकारीको मूल्य बढ्नुले हाम्रो बजार प्रणाली कति कमजोर छ भन्ने कुरा स्पष्ट भएको कालीमाटी तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् ।

दैनिक ८ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने कालिमाटीमा अचेल ६ सयदेखि ७ सय टनमात्रै आइरहेको समितिको अभिलेखले देखाउँछ ।

थोक बजारमै मूल्य बढेपछि त्यसको असर खुद्रा बजारसम्मै परेको छ । थोक र खुद्रा बजारको मूल्यमा पनि निकै अन्तर भेटिएको छ । कालिमाटीको थोक बजारमा रहेको मूल्यभन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म बढी मूल्यमा खुद्रा बजारमा तरकारी विक्री हुने गरेको पाइएको छ ।

थोक बजारमै मूल्य बढेको भन्दै खुद्रा व्यापारीले आफूखुशी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ । कीर्तिपुरको सब्जी बजारमा तरकारी किन्न आएका सुमन महर्जनले व्यापारीले थोक बजारमै मूूल्य बढेको र होलीको कारण देखाउँदै महँगोमा तरकारी बेच्ने गरेको बताए । त्यसमाथि पसलैपिच्छे मूल्य फरक रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्