वर्षेनि बढ्दै छुर्पी निर्यात : दूध अभावले माग धान्न कठिन भएको सम्बद्ध व्यवसायीको गुनासो
काठमाडौं,फागुन २३ । नेपालबाट धेरै निर्यात हुने वस्तुमध्ये एक हो छुर्पी । भन्सार विभागको तथ्याकंअनुसार पछिल्लो समय नेपालबाट छुर्पीको निर्यात निरन्तर बढिरहेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ पछि वार्षिक कम्तीमा १ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भइरहेको छ । गत आवमा यो २ अर्ब रुपैयाँ नाघेको छ ।
नेपालले चालू आवको ७ महीनामा १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । उक्त मूल्यको ८ लाख ७३ हजार २८६ किलोग्राम छुर्पी निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ । गत आवको सोही अवधिमा नेपालबाट १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ६९३ किलोग्राम छुर्पी निर्यात भएको थियो ।
गत आवको ७ महीनाको तुलनामा चालू आवको सोही अवधिमा छुर्पीको निर्यात परिमाण शून्य दशमलव ८४ प्रतिशतले घटे पनि रकम भने १६ प्रतिशतले बढेको छ । नेपाली रुपैयाँभन्दा डलर बलियो भएकाले निर्यातको परिमाण घटे पनि मूल्य बढेको नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले बताए ।
हरेक वर्ष उकालो लागिरहेको छुर्पी निर्यातमा दूध अभाव चुनौती बनेको व्यवसायी बताउँछन् । छुर्पी उद्योगले पर्याप्त दूध नपाउनु नै निर्यात परिमाण घट्नुको मुख्य कारण भएको उनीहरूको भनाइ छ । किसानले दूध उत्पादन नबढाउने हो भने छुर्पी उद्योग आफैले गाईपालन गर्नुपर्ने अवस्था आउने व्यवसायीले बताए ।
अन्तरराष्ट्रिय बजारमा छुर्पीको माग उच्च भएकाले निर्यात बढाउन दूध उत्पादन पनि बढाउनुपर्ने परिषद्का अध्यक्ष पोख्रेलले बताए । नेपालले शून्य भन्सार सुविधामा छुर्पी निर्यात गर्दै आएको छ । ‘त्यसैले यसको निर्यात बढाउन सके किसानको जीवनस्तरदेखि सिंगो राष्ट्रकै अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ,’ उनले भने, ‘यसका लागि सरकारले किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्नुपर्छ ।’