नीतिविपरीत बढाइयो दूधको मूल्य



काठमाडौं,फागुन २१ । सरकारले राष्ट्रिय दुग्ध विकास नीतिविपरीत दूधको मूल्य बढाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो । सरकारको दुग्ध विकास नीति २०७८ अनुसार दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्न सकिन्छ । तर, व्यवसायी र सरकारको मिलेमतोमा पछिल्लोपटक एक वर्षमै मूल्य बढाइएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिलिटर दूधको किसान मूल्य ६५ रुपैयाँ कायम भएको छ । यसअघि किसानले ५६ रुपैयाँ लिटरमा दूध विक्री गर्दै आएका थिए । दूध उत्पादक किसान तथा दुग्ध व्यवसायीले उत्पादन लागतअनुसार दूधको मूल्य नपाएको गुनासो गरेकाले उपभोक्तालाई भार पर्ने गरी सरकारले मूल्य बढाएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले अहिले किसानले पाउने दूधको मूल्यमात्रै बढाइएको बताए । दूध डेरीले पाउने नाफा बढाइएको छैन । उनका अनुसार डेरीले पाउने नाफा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड र अन्य सरोकारवाला निकायबीचको समन्वयमा निर्धारण हुनेछ । अहिले उपभोक्ताले प्रतिलिटर ८३ रुपैयाँमा दूध खरीद गरिरहेका छन् ।

दुग्ध विकास बोर्ड र दूध व्यवसायीको सक्रियतामा गत फागुन २ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाउन सिफारिश गरिएको थियो । केही व्यवसायीले दूधको मूल्य १४ रुपैयाँसम्म बढाउन माग गरेका थिए । यसअघि गत पुसमा डेरी उद्योग संघको अगुवाइमा व्यवसायीले एकतर्फी रूपमा दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढाइएको थियो । चौतर्फी विरोधपछि मूल्यवृद्धि फिर्ता लिइएको थियो ।

दुग्ध व्यवसायीले दाना, चोकर, परालको मूल्य र ढुवानी खर्च बढेको भन्दै दूधको मूल्य बढाउन सरकारलाई दबाब दिएका थिए । नीतिविपरीत दूधको मूल्य बढाउनु आफूहरुको बाध्यता रहेको व्यवसायीले बताएका छन् । दाना, चोकर र औषधिको मूल्य दोब्बरभन्दा बढी पुगेकोले लागत खर्च पनि उठ्न नसकेको अवस्थामा अब बढेको मूल्यले किसानलाई केही राहत हुने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । यसअघि सरकारले करीब १ वर्षअघि तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको पालामा दूधको मूल्य समायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्