चितवन भरतपुरमा करसम्बन्धी तालीम
चितवन,फागुन १६ । भरतपुरमा करसम्बन्धी तालीम शुरू भएको छ । भरतपुर महानगरपालिका–२१ को आयोजनामा आइतवारदेखि शुरू भएको करसम्बन्धी तालीम आज (मंगलवार)सम्म चल्नेछ । तालीमको उद्घाटन महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए । तालीम उद्घाटन गर्दै उपप्रमुख अधिकारीले कर तिर्नु नागरिकको दायित्व भएको बताए । महानगरले हाल २९ ओटै वडामा कर अभियान चलाइरहेको जानकारी उनले दिए ।
‘महानगरपालिका कर मात्र संकलन गर्दैन, उठेको करलाई विकास निर्माणमा लगाउन पनि अग्रसर छ,’ उनले भने । आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिनेगरी महानगर कर संकलनमा जुटेको उनले बताए । वडा नं २१ ले आफ्नो वडाभित्र रहेका व्यवसायी, टोल विकास समितिका अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतलाई कर अभियानमा जोड्ने उद्देश्यले तालीमको आयोजना गरिएको वडाध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिए ।
कर अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास लगायत विषयमा प्रशिक्षण दिइने महानगरको राजस्व महाशाखा प्रमुख बिसुराम कुँवरले बताए ।