साढे १२ अर्बले घट्यो सुन आयात: कोटा घटाएपछि खस्किँदै राजश्व, गहना निर्यात पनि प्रभावित



काठमाडौं,फागुन १३ । नेपालमा सुन आयातमा कमी आएको छ । सरकारले कोटा घटाएपछि सुन आयातमा गिरावट आएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १ हजार ७ सय केजी सुन मात्र नेपाल भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार माघ मसान्तसम्म १२ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा ५०.१३ प्रतिशतले अर्थात १२ अर्ब ६४ करोड रुपैयाँले कमी हो । गत वर्षको समिक्षा अवधिमा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको ३ हजार ६४३ केजी सुन आयात भएको थियो । तर, यस वर्षको माघ मसान्तसम्ममा भने १ हजार ७१६ केजी मात्र सुन नेपाल भित्रिएको हो ।

सरकारले कोटा घटाएपछि नै सुन आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । विशेषगरि सरकारले दैनिक २० केजी आयात गर्ने ठाउँमा १० केजीको कोटा तोकेपछि आयात घट्न थालेको शाक्यको भनाई छ ।

विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले दैनिक १० केजी मात्रै सुन आयात गर्न दिएको छ । यसअघि भने दैनिक २० केजी सुन आयात गर्न पाईने व्यवस्था रहेको थियो । बजारमा हाल दैनिक ३० केजीसम्म सुनको माग हुने गरेको छ । तर, दैनिक १० केजी मात्र सुन आयातले बजार माग धान्न नसक्ने शाक्यले बताए । उनले भने,–‘अहिलेको बजारमा माग दैनिक ३० केजीसम्म छ, आयात गर्न १० केजी मात्र पाइन्छ, उपभोक्ताहरुको पुरानो सुनले १० प्रतिशत कभर गर्छ । तर, माग धान्न मुस्किल नै छ ।’

शाक्यले सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायीक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनको भनाई छ ।

चालु आवको ७ महिनामा यूएई, टर्की, स्वीटजरल्याण्ड र यूवेकिस्तानबाट सुन नेपाल आयात भएको छ । चालु आवको माघ महिनामा सबैभन्दा धेरै यूएईबाट आयात भएको छ । सो देशबाट १९ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ बराबरको सुन आयत भएको विभागले जनाएको छ । यूएईबाट १ हजार ४६६ केजी सुन नेपाल भित्रिएको हो । यस्तै, चालु आवको माघ महिनासम्ममा टर्कीबाट १ अर्ब ८ करोड २ लाख, स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख र यूवेकिस्तानबाट २८० हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । तर, गत वर्षको समक्षिा अवधिमा भने यूएईबाट १९ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ र टर्कीबाट ५ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

आयात कटौतीले खस्कियो राजस्व

सुन आयात घटेसंगै राजश्वमा पनि कमी देखिएको छ । गत वर्षको माघ मसान्तसम्ममा सुन आयातबाट ३ अर्ब ९ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । तर, यस वर्षको सोही अवधिमा भने १ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ अर्थात ५३ प्रतिशतले घटेको छ ।

चालु आवको माघ महिनामा सुन आयातबाट १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ मात्र राजश्व उठेको विभागले जनाएको छ । सरकारले आयातमा कोटा तोकेपछि यसबाट संकलन हुने राजश्वमा गुमाईरहेको महासंघले जनाएको छ ।

दैनिक १० किलो सुन कटौती हुँदा एक वर्षको राजश्वमा करिव साढे तीन करोड रुपैयाँ गुमाएको महासंघले जनाएको छ । एक किलो सुन आयात गर्दा राज्यले साढे ८ लाखभन्दा बढी राजस्व प्राप्त गर्छ ।

नेपालबाट बाहिरिने मौलिक गहना निर्यातमा भारी गिरावट, साढे २५ करोडले घट्यो

बजारमा सुन अभावका कारण नेपालबाट बाहिरिने मौलिक गहना निर्यात पनि प्रभावित बनेको छ । चालु आवको ७ महिनामा सुनका मौलिक गहना निर्यात ७०.८३ प्रतिशतले घटेको छ ।

सो अवधिमा नेपालबाट १० करोड ५१ लाख रुपैयाँ बराबरको साढे ११ केजी सुनका गहना निर्यात भएको विभागले जनाएको छ । तर, गत वर्षको समिक्षा अवधिको तुलनामा भने २५ करोड ५४ लाख रुपैयाँले कमी हो । गत वर्षको माघ महिनामा भने ३६ करोड ५ लाख रुपैयाँ बराबरको ४१ केजी बढी सुनका गहना निर्यात भएको थियो ।

पछिल्लो समय स्वदेशमा काँचो सुनको अभावले गहना निर्यातमा गिरावट आएको अध्यक्ष शाक्यले बताए । हाल आयात गरिने १० केजी सुनले स्वदेशी माग पुर्ति गर्नै ठिक्क हुन गरेको उनको भनाई छ । तर, निर्यात प्रयोजनका लागि बनाइने गहनाका निम्ती सुन नै अपुग हुने शाक्यले बताए । शाक्यले भने,–‘सुनको आयातको कोटा घटाएपनि निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्न दिने विशेष व्यवस्था गर्ने भनिएको थियो । तर, त्यसको लागि कुनै व्यवस्था नहुँदा सुनको गहनाको निर्यात प्रभावित भएको छ ।’

सुनको गहनाको निर्यात बढाउन सकेको भए विदेशी मुद्रा आम्दानी बढ्ने व्यवासायीहरु भनाई छ । सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए ।

आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको हो । अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरुको बसोबास देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ ।

चालु आवको ७ महिनामा सबैभन्दा धेरै अमेरिका निर्यात भएको छ । माघ महिनासम्ममा ८ करोड ४१ लाख रुपैयाँ बराबरको ९ केजी बढी सुनका गहना अमेरिका निर्यात भएको छ । विभागका अनुसार अष्ट्रेलियमा भने करोड ९ लाख रुपैयाँ बराबरको २ केजी बढी सुनका गहना निर्यात भएको छ । तर, गत वर्षको समिक्षा अवधिमा भने यी देशरुमा क्रमशः ३० करोड ५७ लाख, १ करोड १५ लाख रुपैयाँ गहना निर्यात भएको थियो । गत वर्षको माघ महिनामा हङकङमा पनि ४ करोड ३२ लाख रुपैयाँ बराबरको गहना नेपालबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्