नेपालमा कतिसम्म घट्ला प्याजको भाउ ?
काठमाडौं,फागुन १०। भारतमा प्याजको भाउ घटेर ४ वर्ष यताकै न्युन स्तरमा ओर्लिएको छ । यो वर्ष भारतमा प्याजको उत्पादन राम्रो भएको र नयाँ नयाँ राज्यमा पनि प्याज खेती गरिएकाले प्याजको भाउ घटेर ४ वर्ष यताकै न्युन स्तरमा आएको बताइएको छ ।
पश्चिम बंगाल र मध्य प्रदेश लगायतका राज्यमा उत्पादन उच्च रहँदा धेरै प्याज खपत हुने राज्यमा माग घटेको छ । माग घटेपछि प्याजको मूल्य उत्पादन लागत भन्दा पनि कम हुँदा किसानहरू चिन्तामा छन् ।
अहिले प्याजको औसत मूल्य एशियाको सबैभन्दा ठूलो प्याज बजार लासालगाउँ कृषि उत्पादन बजारमा प्रति क्विन्टल ६७५–७०० रुपया छ । यो भनेको नेपाली १ हजार ८० रुपैयाँदेखि १ हजार १२० रुपैयाँ मात्रै हो । जस अनुसार प्रतिकिलो १० देखि ११ रुपैयाँ हाराहारीमै भारतमा प्याजको भाउ घटेको छ । एक वर्ष अघि सोही परिमाणको प्याजको मूल्य २ हजार ८४९ रुपया थियो भने सन् २०२१ म ३ हजार ८०१ रुपया थियो ।
२०२० मा समेत प्याजको भाउ अहिलेको भन्दा झन्डै तेब्बर थियो । केन्द्र सरकारले स्थिर आपूर्तिका लागि परम्परागत रुपमा प्याज खेती नहुने राज्यहरुलाई समेत प्याज खेती गर्न प्रोत्साहन गरेकोले अहिले प्याजको भाउ कम भएको अनुमान गरिएको छ ।
प्याजको उत्पादनमा कमी आउँदा स्थानीय स्तरमा भाउ आकाशिएर सरकारले निर्यातमा नै बन्देज लगाउनु पर्ने स्थिति आउन नदिनका लागि परम्परागत रुपमा प्याज खेती नहुने राज्यहरुलाई पनि खेती गर्न प्रेरित गरेको छ ।
बेमौसमी वर्षाका कारण प्याज खेतीमा क्षति पुग्दा खुद्रा बजारमा एक किलो प्याजको भाउ नै १०० रुपयामा पुगेपछि सन् २०२० र २०२१ मा भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको थियो ।
देशमा प्याजको आपूर्ति धेरै बनाउन सन् २०१९ यता नै केन्द्र सरकारले प्याज खेती विस्तार गर्ने प्रयास गरिहेको छ ।
सरकारले उत्पादन वृद्धिका लागि मध्य प्रदेशलाई लक्षित गरेको थियो । तर उत्तर प्रदेशमा अप्रत्याशित रुपमा उत्पादन बढेको छ । गुजरातमा पनि उत्पादन राम्रो छ । यो सिजनका प्याज लामो समयसम्म नटिक्ने भएकोले पनि बजारमा माग अलि कम भएको व्यापारीहरू बताउँछन् ।
मलेशिया, श्रीलंका र खाडी मुलुकहरुमा प्याजको निर्यात माग कम रहँदा पनि मूल्य कम भएको हो । स्ट्यान्डर्ड आकारका भारतीय प्याज टनकै २५० देखि २६० डलर पर्ने भएपछि विदेशी बजारमा भारतीय प्याज अरुको भन्दा महँगो छ ।