रासायनिक मल खरीदका लागि थप स्रोत सुनिश्चित
काठमाडौं,फागुन ९। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरीदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरीदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।
सुनिश्चित भएको स्रोतमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको बजेट सिलिङमा समावेश गरिनेछ । बाँकी २ अर्ब ६० करोड रुपैयाँ दायित्व सृजना भएपछि निकासा गरिनेछ ।
रासायनिक मल खरीद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । तर अन्तरराष्ट्रिय बजारमा भइरहेको कच्चापदार्थको मूल्यवृद्धि र आर्थिक मन्दीका कारण रासायनिक मलको मूल्यवृद्धि हुँदा उक्त बजेटले नपुग्ने भएपछि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिदिएको थियो । तर उक्त बजेटले पनि यस वर्ष पर्याप्त मल किन्न नपुग्ने देखिएकाले कृषि मन्त्रालयले थप ७ अर्ब ७३ करोड रुपैयाँ स्रोतका लागि अर्थमा पत्राचार गरेको थियो । त्यसमध्ये ७ अर्ब ५० करोड रुपैयाँको स्रोत अर्थले अहिले सुनिश्चित गरिदिएको हो ।
रासायनिक मल खरीद र आपूर्ति व्यवस्था सहज बनाउने सम्बन्धमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरीदका लागि स्रोतको समस्या नहुने बताएका थिए ।
रासायनिक मल खरीदमा कृषिक्षेत्रको बजेटको आधाभन्दा बढी हिस्सा खर्च हुने गरेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा कृषिक्षेत्रका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । नेपालमा वार्षिक साढे ७ लाखदेखि ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार चालू आर्थिक वर्षको हालसम्म ३ लाख २९ हजार मेट्रिक टन मल खरीदका लागि व्यवस्थापन भइसकेको छ ।
१ लाख ६० हजार मेट्रिक टन आयात भएको छ भने १ लाख ४४ हजार टन मल विक्री वितरण गरिसकिएको छ । यससँगै आगामी आर्थिक वर्ष २०८०/८१ मा विनियोजन हुने बजेटबाट चालू आर्थिक वर्षमै खरीद प्रक्रिया शुरू गर्न सहमति प्राप्त भएपछि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा युरिया मलको मूल्य केही घटे पनि डीएपी र पोटासको मूल्य बढेको छ । दुई वर्षअघिसम्म प्रतिमेट्रिक टन ३६० अमेरिकी डलरमा खरीद गरिएको युरिया मलको मूल्य अहिले ५०७ डलर छ । यसअघि यसको मूल्य बढेर साढे ९०० डलरसम्म पुगेको छ । त्यसैगरी २ वर्षअघिसम्म प्रतिमेट्रिक टन साढे ४०० डलरसम्ममा खरीद गरिने डीएपीको मूल्य यतिबेला ८३२ डलर पुगिसकेको छ । नेपालमा खपत हुने रासायनिक मलमध्ये ६० प्रतिशत युरिया, ३५ प्रतिशत डीएपी र ५ प्रतिशत पोटास रहेको छ ।
सार्वजनिक खरीद ऐनमा भएको व्यवस्थाका कारण मल खरीदमा कठिनाइ भएको सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । मल खरीदका लागि बोलपत्र आह्वान गरेपछि नेपाल ल्याइपुर्याउन ४ देखि ६ महीना लाग्छ । यसले गर्दा किसानले बालीनाली गोडमेल गर्ने बेलासम्ममा पनि मल पाउन नसक्ने समस्या छ ।