रासायनिक मल किन्न पैसा अभाव नहुने, अर्थ मन्त्रालयले गर्यो थप साढे ७ अर्बको बजेट ग्यारेन्टी



काठमाडौं,फागुन ८। रासायनिक मल किन्नका लागि पैसा अभाव नहुने देखिएको छ । अर्थ मन्त्रालयले थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेसँगै रासायनिक मल किन्न रकम अभाव नहुने भएको हो ।

सरकारले चालु आर्थिक वर्षका रासायनिक मल खरिद गर्न लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमा रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । तर, त्यो पर्याप्त नभएपनि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको थप बजेट माग गरेको थियो । सोहीअनुसार अर्थ मन्त्रालयले पुनः थप स्रोतको व्यवस्था गरेको हो, योसँगै अब रासायनिक मल किन्न रकम अभाव नहुने देखिएको हो ।

स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ छ । यस्तै, २ अर्ब ५० करोड रुपैयाँ भने आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने बताइएको छ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने मन्त्रालयको भनाइ छ ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अबिलम्ब आवश्यक प्रकृया सुरु गर्न आग्रह गरेका थिए ।

त्यसपछि कृषि मन्त्रालयले स्रोत सुनुश्चित गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । अर्थले स्रोत सुनुश्चित गरेसँगै मल आउने सम्भावना समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्