भारतबाट ५ हजार टन गहुँ नेपाल भित्रियो



विराटनगर,फागुन ४ । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ ।

भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए । गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ ।

त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ । किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ ।

भारत सरकारले नेपालमा गहुँ निकासी गर्न दिने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा माग गर्न प्रकाशित गरेको सूचनाका आधारमा २७ मैदा उद्योगले आवेदन दिएका थिए । मन्त्रालयले ती उद्योगको गतवर्षको उत्पादनका आधारमा ७ प्रतिशत गहुँ दिने निर्णय गरेपछि ३३ हजार टन ती उद्योगले पाउने भएका हुन् । बाँकी १७ हजार टन गहुँ घरेलु प्रयोजनका लागि विक्री गर्ने गरी १६ ओटा व्यापारिक फर्मलाई आयात गर्न दिइएको छ । बजारमा गहुँ अभाव हुन नदिन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

गहुँ अभाव हुन नदिन र सर्वसाधारणलाई महँगीको मारबाट जोगाउन सरकारले थप २ लाख मेट्रिक टन गहुँको कोटा भारत सरकारसँग माग्नुपर्ने दुगडले बताए ।

नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले कोटामा पाएको ६० मेट्रिक टन गहुँ उद्योगमा आइपुगेको बताए । त्यसैगरी सुनसरी मोरङ औद्योगिक कोरिडोरका बाबा फ्लोर मिल, न्युट्री फुड्सलगायत उद्योगमा पनि गहुँ आएको छ । भारतमा ४६ रुपैयाँ किलोमा किनेको गहुँ नेपाल आइपुग्दा लागत ५० रुपैयाँ प्रतिकिलो पुगेको व्यवसायीको भनाइ छ । बेगवानीका अनुसार २/३ दिनभित्रमै आँटाको मूल्य किलोमा १० रुपैयाँसम्म सस्तिनेछ ।

भारत सरकारले गहुँ उत्पादन कम भएको भन्दै १४ मे २०२२ मा यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछि ८ अगस्त २०२२ मा आँटा, मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगायो । नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले सरकारले कोटामा उपलब्ध गराएको गहुँले मुश्किलले १५ दिन पुग्ने भएकाले १५ दिनपछिका लागि थप २ लाख टनको कोटा भारत सरकारसँग माग्नुपर्ने बताए । उनले नयाँ उत्पादन नआउँदासम्मका लागि २ लाख टन गहुँ आवश्यक पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्